तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

Share:

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार (आज) प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । जेनजी आन्दोलनपछि गठित सरकारमा महत्वपूर्ण भूमिका पाएका घिसिङले हालको विकसित राजनीतिक परिस्थितिलाई कारण देखाउँदै पद त्याग गर्ने निर्णय गरेका हुन् ।

उनी गत २०८२ भदौ ३० गते तीनवटा शक्तिशाली मन्त्रालयको जिम्मेवारीसहित नियुक्त भएका थिए। प्रधानमन्त्रीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा घिसिङले आफ्नो कार्यकालमा सुशासन कायम गर्न र विकास आयोजनाहरूलाई गति दिन अधिकतम प्रयास गरेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘मन्त्रालय मातहतका निकायमा सुशासन कायम गर्न, वर्षौंदेखि अलपत्र पारी विकास परियोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्न र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ मैले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको छु ।’

आफूलाई सरकारमा रहेर काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै उनले मन्त्रिपरिषद्का सदस्य, कर्मचारी र सरोकारवाला सबैलाई सहयोगका लागि धन्यवाद दिएका छन् ।

राजीनामा पत्रको अन्त्यमा उनले भविष्यमा पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न आफू सधैँ तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। नेपालको ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङले पछिल्लो समय तीनवटा मन्त्रालयको जिम्मेवारी एकसाथ सम्हाल्दै आएका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: