
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं.९ बाट लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ४ बजे लागू औषधको विक्री-वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार क्षेत्रमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं.३ स्थायी घर भई हाल पोखरामा रहेका २७ वर्षीय संजय यादवलाई रोकी तलासी लिँदा उनको साथबाट कालो प्लास्टिकमा पोको पारी राखिएको खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । तत्काल तौल गर्दा उक्त पदार्थको तौल ८ ग्राम रहेको थियो ।
बरामद लागू औषधसहित यादवलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले लागू औषधको अवैध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।
