
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहकार्य तथा सहजिकरण र पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा दश कार्यदिने उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम आइतबारदेखि पोखरास्थित व्यवसाय प्रवर्द्धन केन्द्रको सभाहलमा सुरु भएको छ।
तालिमको उद्घाटन समारोह पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षतामा, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको प्रमुख आतिथ्य तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रको सञ्चालन व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले गरेका थिए।
तालिममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना तथा प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई। मनोज पौडेल प्रशिक्षकको रूपमा रहेका थिए। विभिन्न क्षेत्रबाट छनोट भएका १८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त तालिमले उद्यमशीलता विकासमा प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ।
स्वागत मन्तव्य राख्दै निर्देशक लक्ष्मण तिमिल्सिनाले तालिमले प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सफल उद्यमी तथा उद्यमशील प्रशिक्षक बन्न आवश्यक सिप प्रदान गर्ने बताए। साथै प्रतिष्ठानले प्राप्त गरेको अनुसारको कार्यविधिभित्र रही तालिम सञ्चालन हुने जानकारी गराउँदै उनले सहभागी सबैलाई स्वागत गरे।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्थानीय तहको आयोजना र प्रतिष्ठानको सहजिकरणमा तालिम पहिलो पटक सञ्चालन भएको उल्लेख गर्दै यसले संघीयता सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। तालिममा छनोट भएका प्रशिक्षार्थीहरूलाई उनले बधाई समेत दिए।
प्रमुख अतिथि मुक्तिराम अर्यालले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा तालिम सञ्चालन गर्न पाउँदा स्थानीय तहको क्षमता विकासमा प्रतिष्ठान सँगसँगै रहेको अनुभूति भएको बताए।
उनका अनुसार यो तालिमले स्थानीयस्तरमा उद्यमशीलता विकासका लागि उत्प्रेरकको भूमिका खेल्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्याउनेछ।
साथै पोखरा महानगरभित्रका कर्मचारी र सरोकारवालाहरूका लागि थप क्षमता विकास तालिम आवश्यक रहेको र ती तालिमहरू प्रतिष्ठानबाट निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गरे।
तालिममा सहभागी प्रशिक्षार्थी मौसम तिमिल्सिनाले पोखरामै उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त गर्न पाउँदा खुशी व्यक्त गर्दै यस तालिमले ज्ञानसँगै व्यावहारिक सिप विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
स्थानीय आर्थिक विकासमा योगदान पुर्याउँदै स्थानीयस्तरमै उद्यमशील प्रशिक्षक उत्पादन गर्नु तालिमको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै उद्घाटन सत्रको समापन कार्यक्रमका अध्यक्ष मनहर कडरियाले गरेका थिए।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेश सरकारअन्तर्गतको स्वायत्त तालिम तथा अनुसन्धान प्रदायक संस्था हो। प्रतिष्ठानले सेवा प्रवेश, सेवाकालीन तालिम तथा गण्डकी प्रदेशभित्रका कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता विकासका लागि विभिन्न तालिम तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई. मनोज पौडेलले दिए।

