वडा १५ स्तरीय खेलकुद महोत्सवमा रोमाञ्चक प्रतिस्पर्धा डोरी तान, ब्याडमिन्टन सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा जारी वडा स्तरीय खेलकुद महोत्सवअन्तर्गत बुधबार डोरी तान र ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका छन् भने भलिवल, फुटबल र विद्यालय स्तरीय यूनि हक्की प्रतियोगिता थप रोमाञ्चक बन्दै अघि बढिरहेका छन् । बुधबार सम्पन्न डोरी तान प्रतियोगिता मा जनजागृति र संगमबीचको फाइनल खेलमा जनजागृति आमा समूह प्रथम बनेको छ । प्रतियोगितामा सानी मजुवा आमा समूह बसुन्धरा मार्ग तृतीय स्थानमा रह्यो ।

पोखरा-१५ मितेरी टोलस्थित मितेरी बहुउद्देश्यीय भवनमा सम्पन्न ब्याडमिन्टन प्रतियोगिता मा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल विकास संस्थाका हरिबहादुर आले प्रथम भए । चन्द्रसूर्य क्लबका तोरण गुरुङ दोस्रो तथा नागमणी टोलका रिशाल गुरुङ र मितेरी टोल विकास संस्थाका अमर खड्का तृतीय बने ।

पुरुष डबलतर्फ हरिबहादुर आले र मनबहादुर सुनारको जोडी (तल्लो नयाँगाउँ) प्रथम, क्या. कृष्णबहादुर गुरुङ र रमेश शाहीको जोडी (ठूलो मजुवा) दोस्रो भए । तोरण गुरुङ-रिमबहादुर कार्की (चन्द्रसूर्य क्लब) तथा सुरज केसी–दर्पण श्रेष्ठ (स्यानीपाटन) को जोडी तेस्रो स्थानमा रहे ।

महिला सिंगलतर्फ मितेरी टोलकी चन्दा तामाङ छन्त्याल प्रथम, जनजागृति आमा समूहकी पुनम मल्ल दोस्रो तथा एकता आमा समूहकी लाली खाँड र प्रतिभा टोलकी लक्ष्मी पुन तृतीय भए ।

महिला डबलतर्फ विमला तामाङ र जी माया रानाको जोडी (माछापुच्छ्रे आमा समूह) प्रथम, शुसिला पुर्जा र लाली खाँड (एकता आमा समूह) दोस्रो भए । बिनिता राना-सिर्जना गुरुङ (स्यानीपाटन) तथा पुनम मल्ल-टु माया गुरुङ (जनजागृति) को जोडी तेस्रो स्थानमा रह्यो ।
ब्याडमिन्टन संयोजक पूर्णबहादुर जिसी ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

भलिवल : महिला र पुरुषतर्फ फाइनलको समीकरण

महिला भलिवलतर्फ जनजागृति आमा समूह र एकता आमा समूह फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा जनजागृतिले चेतना महिला कृषक समूहलाई ३-२ सेटले पराजित गर्‍यो भने दोस्रो सेमिफाइनलमा एकताले संगम टोल महिला समूहलाई ३-० को सोझो सेटमा हरायो ।

पुरुष भलिवलतर्फ गलेश्वर युवा क्लब फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनलमा गलेश्वरले तल्लो नयाँगाउँ टोल विकास संस्थालाई ३-२ सेटमा पराजित गर्‍यो । दोस्रो सेमिफाइनल खेल चन्द्रसूर्य क्लब र स्यानी मजुवा टोल विकास संस्था बीच बिहीबार हुने छ ।

फुटबल र यूनि हक्कीमा उत्साहजनक खेल

विद्यालय स्तरीय फुटबलतर्फ भ्यूप्वाइन्टले गोल्डेन फ्युचरलाई २-१ ले पराजित गर्‍यो भने सिद्ध माविले रेन्वो एकेडेमीलाई ४-३ गोल अन्तरले हरायो । क्लब तथा टोल विकास संस्था स्तरको फुटबलमा स्यानी मजुवा ले अलकाटोललाई २-१ ले पराजित गर्दा दिव्यज्योति युवा क्लब ले ठूली मजुवालाई ८-० को फराकिलो अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्‍यो ।

महानगर विद्यालय स्तरीय यूनि हक्की प्रतियोगिता मा छात्र-छात्रा दुवै तर्फका खेलहरू अत्यन्त रोमाञ्चक बनेका छन् । बुधबार सम्पन्न १० खेलमा विभिन्न विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन् ।सेन्ट फ्रान्सिस, नेपाल-भारत मैत्री, एसओएस, कालिका, शुक्रराज बलभद्रलगायत विद्यालयले प्रभावशाली जित दर्ता गरेका प्रतियोगिता संयोजक आशीष भण्डारी ले जानकारी दिए ।

वडा १५ स्तरीय खेलकुद महोत्सवले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै सामुदायिक एकता र खेल संस्कृतिलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस्
Share: