
पोखरा । छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार सम्पन्न खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित यात्रासहित फाइनल स्थान सुरक्षित गरेको हो। न्यु डायमण्डको जितसँगै अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लब पनि फाइनलमा पुगेको छ।
थाइल्याण्डविरुद्ध न्यु डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै खेलमा पूर्ण दबदबा कायम गर्यो। यस हारसँगै थाइल्याण्ड क्विन्स ४ खेलबाट ६ अङ्कमा सीमित हुँदै उपाधि दौडबाट बाहिरिएको छ। उता, ४ खेलबाट ७ अङ्क जोडेको नेपाल पुलिस क्लब महिलातर्फ फाइनल पुग्ने दोस्रो टोली बनेको हो।
अब उपाधिका लागि न्यु डायमण्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल (एपीएफ) आमनेसामने हुनेछन्। आयोजकका अनुसार तेस्रो स्थानको खेल बिहीबार र फाइनल खेल शुक्रबार आयोजना हुनेछ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन भइरहेको च्याम्पियनसिप १७ माघसम्म चल्नेछ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको छ। सिंगल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताबाट शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने व्यवस्था छ।
पुरुषतर्फ पनि प्रतिस्पर्धा चर्किँदै गएको छ, जहाँ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) तथा त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघबीच महत्वपूर्ण खेलहरू हुँदैछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
