त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर नवआगन्तुकका लागि अभिमुखीकरण सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका-२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।  कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ग्रीन डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) हरिबहादुर बुढाथोकीले नवप्रवेशी विद्यार्थीहरूलाई आत्मविश्वास, लक्ष्यप्रति दृढता र विवेकपूर्ण मार्गनिर्देशनको महत्वबारे प्रेरणादायी मन्तव्य दिएको छ।

उनले अभिमुखीकरण कार्यक्रमलाई औपचारिक शिक्षाको सुरुवात मात्र नभई जीवन बुझ्ने, दृष्टि विस्तार गर्ने र बौद्धिक यात्राको आरम्भका रूपमा लिन आग्रह गरे। कार्यक्रममा कलेजका सल्लाहकार बाबुराम गिरीले उप-प्राध्यापकहरूका प्रेरणादायी विचार, अनुभवजन्य सन्देश र जीवनमुखी सुझावहरूले विद्यार्थीहरूलाई शैक्षिक यात्रालाई डिग्रीमा सीमित नराखी सोच, दृष्टि र चरित्रको रूपान्तरणसँग जोड्न प्रेरित गरेको धारणा व्यक्त गरे।

क्याम्पस प्रमुख डिल्लीराम पौडेलले सम्पूर्ण नवप्रवेशी विद्यार्थीहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै स्वागत मन्तव्य व्यक्त गरे। उप-प्राध्यापक सुनिलदत्त बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा ३७ जना स्नातकोत्तर तहका नवआगन्तुक विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत तथा अभिमुखीकरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: