तनहुँ-१ को चुनावी अंकगणित: ‘लहर’ जोगाउने चुनौती र ‘विरासत’ फर्काउने दाउ

Share:

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को माटोमा एउटा अनौठो राजनीतिक संयोग लुकेको छ। यो त्यही भूमि हो, जसले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई संसदीय राजनीतिमा ‘डेब्यू’ गरायो, पहिलो हारको नमीठो स्वाद चखायो र अन्त्यमा देशको सर्वोच्च पदमा पुग्ने सिँढी पनि यही बन्यो। २०४८ सालदेखि २०७९ सम्म आइपुग्दा पौडेलले यस क्षेत्रबाट धेरै आरोह-अवरोह झेले।

तर, जब उनी शीतल निवास प्रवेश गरे, तनहुँ-१ को राजनीतिक लय नै बदलिएको छ। अहिले यो क्षेत्र केवल एउटा निर्वाचन क्षेत्र मात्र रहेन, बरु पुराना स्थापित दल र उदाउँदो नयाँ शक्तिबीचको ‘प्रतिष्ठाको लडाइँ’ गर्ने कुरुक्षेत्र बनेको छ।

पौडेल राष्ट्रपति बनेपछि रिक्त भएको यस क्षेत्रमा गत वैशाखमा भएको उपनिर्वाचनले राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइदियो। नेपाली कांग्रेसको गढ मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले भारी मतान्तरले जित हात पारे। वाग्लेले ३४ हजार ९११ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतमा खुम्चिए। एमालेका सर्वेन्द्र खनालले त झन् ८ हजार ४८८ मत मात्रै पाए। तर, यो जितको भित्री अंकगणित अझ रोचक छ।

           डा. स्वर्णिम वाग्ले

वाग्लेले तथ्यांक भन्छ, वाग्लेले कांग्रेसको भोट धेरै काटेका थिएनन्। कांग्रेसले अघिल्लो चुनावमा समानुपातिकमा पाएको मत बराबर नै भट्टराईले ल्याएका थिए। तर, एमालेको झन्डै ११ हजार र माओवादी–एकीकृत समाजवादीको करिब ५ देखि ७ हजार मत वाग्लेको पोल्टामा पुगेको थियो। साथै, कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीको समर्थन र ‘स्विङ भोटर’ को साथले वाग्लेलाई संसद पुर्‍यायो।

फेरि पुरानै अनुहार, नयाँ चुनौती

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा तनहुँ-१ फेरि एकपटक तातिएको छ। मैदानमा फेरि पनि पुराना प्रतिस्पर्धी डा. स्वर्णिम वाग्ले र गोविन्द भट्टराई नै छन्। रास्वपाले वाग्लेलाई ‘भावी अर्थमन्त्री’ का रूपमा प्रोजेक्ट गरेको छ। वाग्लेका लागि यसपटकको सबैभन्दा ठूलो चुनौती भनेको अघिल्लो पटक आफूतिर तानिएको एमाले र माओवादीको ‘सापट’ मतलाई जोगाइराख्नु हो। यदि ती मतदाता आफ्नै पुरानो घर फर्किए भने वाग्लेलाई जित दोहोर्‍याउन सहज हुने छैन। तर, निर्वाचन क्षेत्रमा उनको निरन्तरको सक्रियता र ‘जेनजी’ (नयाँ पुस्ता) माझको लोकप्रियता उनको बलियो हतियार हो।

अर्कोतर्फ, कांग्रेसका गोविन्द भट्टराई आफ्नो गुमेको विरासत फर्काउने दाउमा छन्। तनहुँका गाउँ–गाउँमा ६० भन्दा बढी खानेपानी आयोजना पुर्‍याएका र सामाजिक काममा भिजेका भट्टराई यसपालि ‘लोकल भर्सेस टुरिस्ट’ कार्ड र सहानुभूति मतको आशामा छन्। अघिल्लो पटकको हारबाट पाठ सिक्दै उनले एमाले र माओवादीका असन्तुष्ट मत तान्न सके कांग्रेसले फेरि कमब्याक गर्न सक्छ।

   गोविन्द भट्टराई

नेकपा एमालेले यसपटक अनुभवी नेतृ भगवती न्यौपानेलाई मैदानमा उतारेको छ। राष्ट्रिय सभाको पूर्व दलको नेता र पूर्वमन्त्री भइसकेकी न्यौपानेका लागि यो चुनाव आफ्नो दलको खस्किएको साख जोगाउने अवसर हो। अघिल्लो पटक ८ हजारमा खुम्चिएको एमालेको मतलाई आफ्नै सुरक्षित घेरामा फर्काउन नै उनको पहिलो प्राथमिकता हुनेछ।

यसैबीच, निर्वाचनमा अर्को निर्णायक मोड ‘जोशी फ्याक्टर’ हुन सक्छ। यसपटक गोविन्दराज जोशीका छोरा दिपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। अघिल्लो पटक वाग्लेलाई समर्थन गरेका जोशीको करिब ६ हजार मत यसपटक कता जान्छरु यो प्रश्नले वाग्ले र भट्टराई दुवैलाई सशंकित बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: