घान्द्रुक पर्यटन महोत्सव: पर्यटकलाई १५ प्रतिशत छुट, भलिबलदेखि भेडाको साँड जुडाईसम्म विविध आकर्षण

Share:

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका-१० र ११ मा अवस्थित विश्वप्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ गतेदेखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव आयोजना हुने भएको छ। महोत्सवबारे जानकारी दिन मंगलबार पोखरामा पत्रकार सम्मेलन गरिएको हो। घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक) को संयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव सञ्चालन हुने रोधीं क्लब कोँड (घान्द्रुक) का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले जानकारी दिए।

‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित विगत केही वर्षदेखि महोत्सव आयोजना हुँदै आएको उल्लेख गर्दै उपाध्यक्ष गुरुङले खेलकुद र संस्कृतिको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि महोत्सव आयोजना गरिएको बताए।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशतसम्म छुट दिइनेछ। उनले घान्द्रुकमा एकैदिन करिब २ हजार ५ सय पर्यटक अट्ने क्षमता भएका होटल तथा होमस्टेहरू रहेको जानकारी दिए।

रोधीं क्लब कोँड (घान्द्रुक) का अध्यक्ष लक्ष्मण गुरुङले महोत्सवले घान्द्रुकको पर्यटन प्रवर्द्धनका साथै कला, संस्कृति र रीतिरिवाजको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। ढुङ्गेनी गाउँको नामले परिचित घान्द्रुकको पहिचानलाई थप मजबुत बनाउने लक्ष्य रहेको उनको भनाइ थियो।

महोत्सव सफल बनाउन पोखरा र घान्द्रुकमा आयोजित च्यारिटी डिनर कार्यक्रमबाट १९ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ। महोत्सवमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिता, घोडा दौड, भेडाको साँड जुडाई, रस्साकस्सी, छेलो तथा घान्द्रुक चक्रिय पदमार्ग दौड जस्ता प्रतियोगिताहरू सञ्चालन गरिनेछन्।

खुल्ला वडास्तरीय पुरुष भलिबल तथा राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताका विजेताले समान १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

घोडा दौड प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले ४० हजार ४ सय ४४ रुपैयाँ, तेस्रो हुनेले २० हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछन्। चौथोदेखि सातौं स्थानसम्म नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै, घान्द्रुक चक्रिय पदमार्ग दौड, छेलो तथा महिला-पुरुष रस्साकस्सी प्रतियोगितामा पनि आकर्षक नगद पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ। भेडाको साँड जुडाई प्रतियोगितामा प्रथमदेखि पाँचौं स्थानसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

पोखराबाट करिब साढे दुई घण्टाको सवारी यात्रा मार्फत पोखरा–बागलुङ सडकखण्डको नयाँपुल र विरेठाटी हुँदै घान्द्रुक पुग्न सकिन्छ। घान्द्रुकबाट टाडापानी, घोडेपानी, खोर्पा लेक, हिडन लेक हुँदै अन्नपूर्ण बेस क्याम्पसम्म जाने विभिन्न पदमार्गहरूले पर्यटकलाई थप आकर्षण प्रदान गर्छन्। आयोजकका अनुसार खेलकुद, संस्कृति र प्रकृतिको संगम बनेको घान्द्रुक पर्यटन महोत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: