
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सरकारले एकीकृत सुरक्षा योजना २०८२ कार्यान्वयनमा ल्याएको छ। सोही योजनाअनुसार बुधबारदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय देशभर परिचालित हुँदैछन्।
निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा शान्ति-सुरक्षालाई अझ मजबुत बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रूपमा परिचालन गर्न लागिएको हो। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको सरकारको भनाइ छ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। बाहिरी सुरक्षा घेरामा रही नेपाली सेनाले महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ।
नेपाली सेनाले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि नै फौज परिचालन गर्ने जनाएको छ। निर्वाचन सुरक्षा व्यवस्थाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार गत मंसिर ११ गते सेनाको परिचालन स्वीकृत गरेका थिए। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार सेनाको ‘वेस’ स्थापना गरिनेछ भने संयुक्त गस्तीसमेत सञ्चालन हुनेछ। सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।
एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनपूर्व, मतदानको दिन र निर्वाचनपछिका गरी तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ। यसअन्तर्गत मतपत्र छपाइ तथा ढुवानी, मतदानस्थलको सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्म सेनाले सम्हाल्नेछ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ। मतदानका क्रममा सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिनेछ।
आसन्न निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। यसपटक कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्, जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य मतदाता छन्।देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। नेपाल प्रहरीबाट ७७ हजार जनशक्ति परिचालन गरिनेछ भने थप एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।
मतदानस्थललाई जोखिमका आधारमा वर्गीकरण गरिएको छ। २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० मतदानस्थल अति संवेदनशील मानिएका छन्। सोहीअनुसार सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलतर्फ ३४ हजार ५७६ जनशक्ति र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जनालाई परिचालन गरिनेछ। कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।
