
पोखरा। जिल्ला समन्वय समिति कास्कीको टोलीले बुधबार रूपा रिङरोड सडक आयोजनाको स्थलगत अनुगमन सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार कार्यालयमार्फत निर्माणाधीन १६ किलोमिटर लामो उक्त सडक आयोजनाको प्रगति अवस्थाबारे स्थलगत निरीक्षण गरिएको हो।
रूपा रिङरोड सडक आयोजना २०८१ साउन १७ गते करिब ४७ करोड १८ लाख ९१ हजार रुपैयाँ लागतमा सम्झौता भई निर्माण कार्य सुरु गरिएको हो। बिबिआर कन्स्ट्रक्सन जेभीले निर्माण गरिरहेको उक्त सडक २०८३ माघ १६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
आयोजनाको हालसम्म २६ करोड ८१ लाख ५० हजार ७ सय ६३ रुपैयाँ भुक्तानी भइसकेको र ५० प्रतिशत भौतिक तथा ५६ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाइएको छ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय निर्माणमा कुनै पनि प्रकारको कमजोरी हुन नदिन निर्माण कम्पनी तथा सरोकारवाला निकायलाई निर्देशन दिए। उनले आयोजनालाई निर्धारित समयसीमाभित्रै सम्पन्न हुने गरी कामलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरे।
भौतिक पूर्वाधार कार्यालयका इन्जिनियर राजेश चित्रकारले आयोजनामा हालसम्म कुनै आर्थिक अभाव वा ठूला अवरोध नदेखिएको उल्लेख गर्दै निर्धारित समयमै निर्माण सम्पन्न हुनेमा आफू आशावादी रहेको बताए।
प्रमुख लिलाधर पौडेलको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता माल, सदस्यद्वय राजु अधिकारी र हर्क गुरुङ, जिल्ला समन्वय अधिकारी नवराज बरालसहित सम्बन्धित विभागीय कार्यालयका इन्जिनियर, प्राविधिक, कर्मचारी तथा स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो।

