
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाही जिल्लामा नेपाली सेनाले सुरक्षा गस्ती तीव्र पारेको छ। सदरमुकाम मलङ्गवा लगायतका संवेदनशील क्षेत्रहरूमा बिहीबारदेखि सेनाको टोलीले पैदल गस्ती (फ्ल्याग मार्च) सुरु गरेको हो।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेनाले सक्रियता बढाएको सुरक्षा निकायले जनाएको छ। सरकारले देशभर करिब ८० हजार नेपाली सेना परिचालन गर्ने निर्णय गरेसँगै सर्लाहीमा पनि सेनाको उपस्थिति उल्लेखनीय रूपमा बढाइएको छ।
गस्तीका साथै सेनाले निर्वाचन केन्द्रहरू नजिकै अस्थायी सुरक्षा बेस स्थापना गर्ने कामसमेत सुरु गरेको छ। यसले मतदाता, उम्मेदवार तथा निर्वाचन प्रक्रियामा संलग्न सबै पक्षलाई सुरक्षित महसुस गराउने विश्वास गरिएको छ।
स्थानीय प्रशासनका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ। निर्वाचन नजिकिँदै जाँदा सम्भावित जोखिम न्यूनीकरण गर्न सुरक्षा संयन्त्र पूर्ण रूपमा सतर्क अवस्थामा राखिएको बताइएको छ।
