
पोखरा, १८ कात्तिक / भारतले गरेको नाकावन्दी पछि पोखरामा दुई महिना पछि ७।१ केजी तौल भएको एल पि ग्याँस वितरण भएको छ । स्थानिय गृहलक्ष्मी ग्यास कम्पनीले यस क्षेत्रको लागि तयार गरेको ६ हजार सिलिण्डर मध्ये पोखराको लागि ४५ सय वटा ७।१ केजी तौल भएको एल पि ग्याँस वितरण गरीएको हो ।
बाकी १५ सय सिलिन्डर भोलि लेखनाथमा बितरण गरिने कास्कीका साहेक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मीले जानकारी दिए । स्थानिय प्रशासन, आयल निगम र ग्यास बिक्रेताले संयुक्त रुपमा ग्यास बितरण सुरु गरेका हुन् । ७।१ केजी तौल भएको ग्यासको मुल्य प्रति सिलिण्डर ७ सय रुपैयामा विक्री गरीएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ग्यास लिनको लागि हजारौ मानिस राती देखि लाईनमा बसेका थिए ।
गृहलक्ष्मी ग्यास वाहेक अन्य कम्पनीका सिलीन्डर भएका उपभोक्ताले भने अझै ग्यास पाएका छैनन । सिमित मात्र ग्यास वितरण गरीएकाले लाईनमा वसेका उपभोक्ता पनि ग्यास नपाएर फर्किएका छन । पोखरामा दुई लाख सिलिण्डर ग्यास खालीरहेको ग्यास विक्रेता महासंघ कास्कीका अध्यक्ष नारायण पौडेलले जानकारी दिए । उनले दैनिक पोखरामा ३० हजार सिलिण्डर खपत हुने गरेको बताए ।
बजारमा ग्यासको अभाव भएपछि ग्यासको पनि कालोबजारी भएको छ । बितरण गरिएको गृह लक्ष्मी कम्पनीको ग्यास भएका कारण अन्य कम्पनीको सिलिण्डर भएका उपभोक्ताहरु भने लाईनमा बस्न समेत बन्चीत भएका छन । अन्य कम्पनीले भने कहिले बितरण गर्छ भन्ने एकिन भएको छैन । ग्यास नपाईने डरले मानिसहरु एक दिन अगाडी देखि नै प्रर्दशनी केन्द्रमा गएर लाईनमा बसेका थिए ।
Photo: Dinnath Baral
