निर्वाचनका लागि गण्डकीमा कडा सुरक्षा, कुन जिल्लामा कति प्रहरी ?

Share:

पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न गण्डकी प्रदेशभर ७ हजार १४० जना प्रहरी परिचालन गरिने भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्लागत रूपमा हेर्दा गोरखामा सबैभन्दा बढी एक हजार तीन जना प्रहरी खटाइनेछन् भने मनाङमा सबैभन्दा कम १६३ जना प्रहरी परिचालन हुनेछन्। यसैगरी, कास्कीमा ९५७, स्याङ्जामा ९४०, तनहुँमा ८३८ र नवलपुरमा ८१८ जना प्रहरी परिचालन हुने प्रदेश प्रहरीले जनाएको छ।

अन्य जिल्लामा लमजुङमा ६०६, बागलुङमा ६५८, पर्वतमा ४३९, म्याग्दीमा ४११ र मुस्ताङमा २०२ जना प्रहरी खटाइनेछन्। प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीका अनुसार निर्वाचन अवधिभर प्रदेशभर जम्मा १४ हजार १२ जना निर्वाचन सुरक्षा प्रहरी परिचालन गरिनेछ।

गण्डकी प्रदेशमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्।

मतदाता संख्याका आधारमा कास्कीमा सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता छन् भने मनाङमा सबैभन्दा कम सात हजार मतदाता रहेका छन्।

त्यसैगरी, नवलपुरमा दुई लाख ६८ हजार ५२६, तनहुँमा दुई लाख ५४ हजार ३९७, स्याङ्जामा दुई लाख ४८ हजार ८१६, गोरखामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता छन्।

अन्य जिल्लामा लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ४३८ मतदाता रहेका छन्।

निर्वाचनका लागि प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन सुरक्षा निकाय उच्च सतर्कतामा रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: