
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा नव-नियुक्त इन्जिनियरिङ्ग तथा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरूका लागि सञ्चालन गरिएको पाँच दिने सेवा प्रवेश तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गण्डकी प्रदेश लोकसेवा आयोगबाट २०८२ बैशाख ०१ गतेपछि सिफारिस भई प्रदेश तथा स्थानीय तहमा सहायकस्तर चौथो र पाँचौँ तहमा कार्यरत कर्मचारीहरूलाई लक्षित गरी माघ १९ गतेदेखि सञ्चालन गरिएको तालिम राष्ट्रिय परीक्षा बोर्डको सभाहलमा सम्पन्न भएको हो।
तालिम समापन कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षता तथा प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशका माननीय अध्यक्ष विष्णुप्रसाद नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समापन समारोहमा प्रमुख अतिथि नेपालले लोकसेवा आयोगले हजारौँ प्रतिस्पर्धीमध्येबाट सैद्धान्तिक तथा व्यवहारिक मूल्यांकनका आधारमा कर्मचारी छनोट गर्ने उल्लेख गर्दै, प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदान गरिने तालिमले कर्मचारीको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सिपमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले यस तालिमले सेवा प्रवाहलाई सहज, पारदर्शी, सेवामुखी र कार्यकुशल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले तालिम सार्वजनिक प्रशासन तथा खरिद व्यवस्थापनमा केन्द्रित रहेको जानकारी गराउँदै, निजामती प्रशासनको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा सहभागीहरूलाई ज्ञान प्रदान गरिएको बताए।
सहभागीहरूको तर्फबाट अंकित बोहोरा र अकिता कार्कीले तालिम व्यावहारिक, सिपमूलक तथा अभ्यासमुखी रहेको अनुभव साझा गर्दै दैनिक प्रशासनिक कार्य तथा खरिद व्यवस्थापनका समस्याहरू समाधान गर्न आत्मविश्वास बढेको बताए।
तालिममा प्रदेश तथा स्थानीय तहको काम, कर्तव्य र अधिकार, सार्वजनिक प्रशासन, निजामती ऐन-कानुन, खरिद प्रक्रिया, बजेट निर्माण तथा व्यवस्थापन, योजना कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, जिन्सी व्यवस्थापन, लेखा परीक्षण, बेरुजु फर्छ्यौट, सामाजिक सुरक्षा, अभिलेख व्यवस्थापन, टिप्पणी लेखन, दर्ता-चलानी, सुशासन र सदाचार लगायतका विषयमा सहजीकरण गरिएको थियो।
तालिमका संयोजक तथा व्यवस्थापन एवम् प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले प्राविधिक कर्मचारीका लागि प्राविधिक ज्ञानसँगै प्रशासनिक ज्ञान पनि उत्तिकै आवश्यक हुने भएकाले दुवै पक्षलाई समेटेर अभ्यासमार्फत प्रशिक्षण दिइएको जानकारी दिए।
गत माघ १९ गतेदेखि सञ्चालन भएको उक्त तालिममा स्वास्थ्य तथा इन्जिनियरिङ्ग सेवा तर्फका ६८ जना कर्मचारीहरूको सहभागिता रहेको थियो। तालिम सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको शिक्षा विकास महाशाखाको हल तथा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको हलमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानकी लेखा अधिकृत सिर्जना गौतमलाई योगदानको कदर गर्दै सम्मानसहित विदाइ गरिएको थियो। हाल उनी प्रदेश लेखा नियन्त्रक कार्यालयमा सरुवा भई गएका छन् । समापन मन्तव्यमा कार्यकारी निर्देशक तिवारीले प्रतिष्ठानको नारा “व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” लाई व्यवहारमा उतार्न तालिमले योगदान दिने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई सफल कार्यकालको शुभकामना दिए।
उक्त समापन सत्रको सञ्चालन तालिम संयोजक इन्जिनियर मनोज पौडेलले गरेका थिए । यसअघि प्रतिष्ठानले प्रशासन, इन्जिनियरिङ्ग, स्वास्थ्य र कृषि सेवा तर्फ विभिन्न सात समूहमा सेवा प्रवेश तालिम सञ्चालन गरिसकेको र ती तालिमबाट २२० भन्दा बढी कर्मचारी दीक्षित भइसकेको लेखा अधिकृत प्रशान्त सुवेदीले जानकारी दिए।
