कांग्रेस कास्की-१ द्वारा सम्पर्क कार्यालय विस्तार, मतदातासँग सुझाव संकलन तीव्र

Share:

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले निर्वाचन लक्षित गतिविधिलाई तीव्र बनाउँदै विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना तथा मतदातासँग प्रत्यक्ष सुझाव संकलन अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छ। यसैक्रममा शनिबार पोखरा महानगरपालिका-२७ को आवासनगरमा चुनाव प्रचार-प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ। सम्पर्क कार्यालयको उद्घाटन कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार रानाभाटले नेपाली कांग्रेस देश र जनताप्रति जवाफदेही र डराउने पार्टी भएको उल्लेख गर्दै सधैँ जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भनसुन र पहुँचका भरमा काम गर्ने संस्कार अन्त्य गर्नुपर्नेमा जोड दिँदै कानुनी शासन र सुशासन स्थापनाका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे। देशभित्रका साधनस्रोतको सदुपयोगमार्फत समुन्नत राष्ट्र निर्माणमा कांग्रेस निरन्तर लागिरहने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले आम नागरिकका आवश्यकता र चाहनालाई सम्बोधन गर्न सक्ने क्षमता कांग्रेससँग मात्र रहेको बताउँदै कांग्रेसलाई विजयी गराउन अपिल गरे। त्यस्तै पोखरा-२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले सुख-दुःखमा सधैँ साथ दिने पार्टी कांग्रेस भएको धारणा राखे।

उक्त अवसरमा नेपाली कांग्रेस पोखरा-२७ वडा समितिका सभापति नारायणमणि लामिछानेको नेतृत्वमा दिपाङताल क्षेत्र, बडहरे, अर्घौ-अर्चले, घरेलु चौर, शान्ति खहरे र रिठ्ठेपानी क्षेत्रका मतदाता, ज्येष्ठ नागरिक तथा आमा समूहसँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव संकलन गरिएको थियो।

यसैगरी पोखरा महानगरपालिका-३१ मा भानुभक्त पौडेलको संयोजकत्वमा ३ सय ३३ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको छ। साथै निर्वाचनलाई प्रभावकारी बनाउन विभिन्न १४ वटा उपसमिति समेत गठन गरिएको नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सचिव ओमप्रकाश गुरुङले जानकारी दिए। कांग्रेस कास्की-१ ले संगठन विस्तार, जनसम्पर्क र सुझाव संकलनमार्फत निर्वाचन अभियानलाई थप सशक्त बनाउँदै लगेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: