
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेशमा तालिमरत १० हजार ४४८ जना निर्वाचन प्रहरीलाई ट्राफिक सचेतना कक्षा प्रदान गरिएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कास्कीको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापन र सडक सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो ।
प्रदेशका विभिन्न जिल्लाबाट भर्ना भई हाल तालिम लिइरहेका निर्वाचन प्रहरीलाई प्रचलित ट्राफिक ऐन तथा नियम, सार्वजनिक सडकको सुरक्षित प्रयोग, सवारी आवागमन व्यवस्थापन र दुर्घटना न्यूनीकरणसम्बन्धी महत्त्वपूर्ण जानकारी दिइएको थियो ।
निर्वाचनका बेला सुरक्षाकर्मीहरू प्रत्यक्ष रूपमा सडकमा खटिनुपर्ने भएकाले उनीहरूलाई ट्राफिक नियमका आधारभूत तथा व्यावहारिक पक्षबारे विशेष सचेतना गराइएको कार्यालयले जनाएको छ ।
विसं २०८२ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा प्रयोजनार्थ भर्ना भएका निर्वाचन प्रहरीलाई लक्षित तालिममा भिडभाड व्यवस्थापन, सवारी चाप नियन्त्रण र आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे समेत प्रशिक्षण दिइएको थियो ।
तालिममा सहभागी निर्वाचन प्रहरीहरूले यस्तो सचेतनाले निर्वाचन अवधिमा सडक सुरक्षा कायम गर्न र आम नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न ठूलो सहयोग पुग्ने बताएका छन् ।
