
पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित विभिन्न ज्येष्ठ नागरिकसम्बद्ध संघ–संस्थाहरूसँग आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान, अधिकारको कार्यान्वयन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधान र कानुनले व्यवस्था गरेका ज्येष्ठ नागरिकका सेवा-सुविधा निसर्त कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सार्वजनिक यातायातमा प्रदान गरिनुपर्ने ५० प्रतिशत छुटको व्यवस्था अझै प्रभावकारी रूपमा लागू हुन नसकेको उल्लेख गर्दै उनले अस्पताल, बैंक तथा अन्य निजी र सार्वजनिक सेवा प्रदायक संस्थाहरूको ध्यानाकर्षण गराए ।
केही सरकारी तथा सरोकारवाला कार्यालयहरूमा सेवा प्रवाह ज्येष्ठ नागरिकमैत्री नभएको गुनासो आएको जनाउँदै प्रमुख पौडेलले तत्काल सेवा प्रक्रियामा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन आग्रह गरे । साथै जिल्ला समन्वय समितिलाई नागरिकका गुनासा सुन्ने र समाधान खोज्ने थलोका रूपमा लिन आग्रह गर्दै कुनै पनि समस्या वा गुनासा भए जानकारी गराउन अनुरोध गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका शाखा अधिकृत लक्षु शर्माले ज्येष्ठ नागरिकका अधिकार र वर्तमान अवस्था विषयमा अवधारणा पत्र प्रस्तुत गरे । उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्था, हक-अधिकार, नीतिगत प्रावधान, कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपायबारे प्रकाश पारे ।
ज्येष्ठ नागरिक सेवा सम्बन्धमा सञ्चालित ज्येष्ठ नागरिक आश्रम र दिवा सेवा केन्द्रका सञ्चालकहरूले ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका समस्या साझा गर्दै राज्यका निकायहरू अझ सक्रिय र संवेदनशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कास्की जिल्लामा क्रियाशील विभिन्न ज्येष्ठ नागरिकसम्बद्ध संघसंस्था, प्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्य सितादेबी विश्वकर्माले र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।
