पोखराको समग्र विकासका लागि ‘लिङ्क पोखरा’ मास्टर प्लान ल्याइने : रश्मि आचार्य

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ का जेन्जी युवाहरूले उम्मेदवारलाई प्रतीकात्मक मतदान गर्दै नेकपा (एमाले) पोखरा-७ को निर्वाचन कार्यालय शुभारम्भ गरेका छन्। युवाहरूले आफ्नो रोजाइको उम्मेदवार रश्मि आचार्यप्रति विश्वास व्यक्त गर्दै मतदानमार्फत निर्वाचन अभियानको औपचारिक सुरुवात गरेका हुन्।

स्थानीय सुकर्ण पौडेल, सुक्रान्त पौडेल, परिवेश रेग्मीलगायत दर्जनौँ युवाको सहभागितामा सम्पन्न कार्यक्रममा जेन्जी पुस्ताले आफ्नो भावना, आशा र अपेक्षाअनुसारको योजना बोकेको उम्मेदवार पाएको भन्दै खुशी व्यक्त गरे। युवाहरूले विगतका योजनाको मूल्यांकन गर्दै अधुरा काम पूरा गर्ने र अव्यवस्थित नीतिलाई व्यवस्थित बनाउन उम्मेदवार आचार्यलाई सुझावसमेत दिएका छन्।

कार्यक्रममा सहभागी युवाहरूले देशको नयाँ पुस्ताको चाहना र युगको माग सम्बोधन गर्न रश्मि आचार्य सक्षम उम्मेदवार भएको उल्लेख गर्दै उनलाई विजयी गराउन संगठित रूपमा लाग्ने प्रतिबद्धता जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) कास्की क्षेत्र नं. २ की प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले पोखराको सहरी र ग्रामीण क्षेत्रबीच सन्तुलित विकास आवश्यक रहेको बताइन्। उनले पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै ‘लिङ्क पोखरा’ अभियानको परिकल्पना गरिएको जानकारी दिइन्।

उनका अनुसार ‘लिङ्क पोखरा’ मास्टर प्लानका रूपमा अघि बढाइनेछ, जसले ग्रामीण र शहरी क्षेत्रबीच स्थानीय तथा पर्यटकको आवतजावत बढाउनेछ। संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्यसहित योजना कार्यान्वयन गरिने आचार्यको भनाइ थियो।

पर्यटनको राजधानी पोखरालाई अझ धेरै पर्यटक आउने अन्तर्राष्ट्रिय शहर बनाउने लक्ष्यमा आफू केन्द्रित हुने बताउँदै उनले पोखराको समृद्धिमा यो योजना महत्वपूर्ण हुने उल्लेख गरिन्। साथै, मर्यादित र व्यवहारिक शिक्षा तथा युवा लक्षित रोजगारीको वातावरण निर्माण अबको प्रमुख कार्यनीति हुने उनको भनाइ थियो।

कार्यक्रममा एमालेकी पूर्व पोलिटब्यूरो सदस्य सीता गिरी ओलीले आन्दोलन, शिक्षा, बौद्धिकता र इमानदारीताको आधारमा रश्मि आचार्य कास्की क्षेत्र नं. २ का जनताको रोजाइको उम्मेदवार भएको बताइन्। उनले युवाको तीव्र र व्यवस्थित विकासको एजेण्डा कार्यान्वयन गर्न आचार्य सक्षम उम्मेदवार भएको धारणा राखिन्।

एमाले पोखरा-७ का अध्यक्ष अनिल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपकजंग कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव अर्जुन थापाले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: