घरदैलो अभियानलाई तीव्र पार्दै तिलक रानाभाट

Share:

पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बिहीबार र शुक्रबार उनले मादी गाउँपालिका वडा नम्बर ८ र ९ का विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्। रानाभाटले पाखरीकोट, नागिधार, रबैडाँडा, परक्यु लगायत वडा नम्बर ८ तथा गहते, च्याङ्दी, मिजुरे, गोर्जे, मोग्रीबेसी, पालुवा बेसी लगायत वडा नम्बर ९ का गाउँहरूमा घरदैलो गर्दै स्थानीयसँग मतका साथै सुझावसमेत मागेका छन्। “समृद्ध मादी बनाउन विकासको खाका स्थानीयकै सुझावका आधारमा तयार गर्छु,” उनले मतदातासँग प्रतिबद्धता व्यक्त गरे।

वडा नम्बर ८ र ९ मा चुनाव प्रचार-प्रसार सचिवालय उद्घाटन कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले जनताको मागअनुसार विकास गर्न कांग्रेस सधैं प्रतिबद्ध रहेको बताए। कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसी, कास्की जिल्ला सभापति किशोरदत्त बराल, जिल्ला सचिव भानुभक्त ढकाल, मादी गाउँपालिका सभापति यमबहादुर गुरुङलगायत नेताहरूको उपस्थिति रहेको थियो।

नेताहरूले उम्मेदवार रानाभाटलाई सफलताको शुभकामना दिँदै विकासमा हातेमालो गर्ने प्रतिबद्धता जनाए। यता नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ। वडा कार्यसमितिहरूलाई लक्षित गरी चुनावी रणनीति तथा मतदाता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा कांग्रेसका निवर्तमान सह-महामन्त्री जीवन परियार र नेता प्रा. डा. कश्माकर न्यौपानेले सहजीकरण गरेका थिए। महानगर सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति बजिरमान श्रेष्ठ, महिला नेत्री माया बराल, उपसभापति प्रयागराज भण्डारी, सचिव टिकाराज बास्तोला र परमेश्वर कार्कीले आ-आफ्नो धारणा राखेका थिए।

उम्मेदवार रानाभाटले “मादीमा जन्मेर हुर्किएको सन्तानका रूपमा स्थानीयकै सल्लाह-सुझावलाई मार्गदर्शन बनाएर विकासका काम अघि बढाउने” दृढता व्यक्त गरेका छन्। अभियानलाई तीव्र बनाउँदै कांग्रेसले गाउँदेखि शहरसम्म चुनावी माहोल तातेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: