पोखरा-५ प्रस्याङमा सन्तानेश्वर मन्दिर पुनर्निर्माणको शिलान्यास, १ करोड ६५ लाख लागत अनुमान

Share:

पोखरा। पोखरा महानगरपालिका-५ स्थित प्रस्याङमा रहेको ऐतिहासिक सन्तानेश्वर महादेव मन्दिरको पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ। महाशिवरात्रिको अवसर पारेर आयोजित कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद बरालले मन्दिर पुनर्निर्माणको शिलान्यास गरे। वडा अध्यक्ष बरालले प्रस्याङ पार्कलाई व्यवस्थित र आकर्षक धार्मिक-पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना तयार गरिएको जानकारी दिए। “सन्तानेश्वर महादेव मन्दिरलाई पोखरा-५ को प्रमुख धार्मिक केन्द्रका रूपमा विकास गरिनेछ,” उनले बताए।

मन्दिर पुनर्निर्माण महानगरपालिकाको योजना र स्थानीय समुदायको सहकार्यमा गरिनेछ। प्रचारप्रसार संयोजक लक्ष्मण बरालका अनुसार पुनर्निर्माणका लागि १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। शिलान्यासकै दिन पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको परिवारले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। स्थानीयको सक्रिय सहभागितामार्फत समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य समितिले लिएको छ।

यसै अवसरमा सन्तानेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि महोत्सवसमेत आयोजना गरिएको छ। प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजना तथा शिवालय भजन समूहको समन्वयमा सामूहिक व्रतबन्ध, साँझ आरती, भजन-कीर्तनलगायत विविध धार्मिक कार्यक्रम सम्पन्न भएका छन्।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको करिब १२५ वर्ष पुरानो उक्त मन्दिरमा हरेक वर्ष शिवरात्रिका अवसरमा स्वतःस्फूर्त कार्यक्रम हुँदै आए पनि यसपटक विशेष व्यवस्थापनसहित महोत्सव आयोजना गरिएको संयोजक सन्तोष पराजुलीले जानकारी दिए। पछिल्लो समय पर्यटनसँग जोडिँदै गएको प्रस्याङ पार्क क्षेत्रलाई धार्मिक पर्यटनसँग समेत समेट्ने लक्ष्य आयोजकको छ।

शिवरात्रि विशेष कार्यक्रमलाई Fishtail IVF & Fertility Centerले सहयोग गरेको थियो। कार्यक्रममा १०८ शिवलिंगमा दूध, जल तथा बेलपत्र अर्पण, सामूहिक चूडाकर्म, निःशुल्क रक्त परीक्षण, विभिन्न सांस्कृतिक प्रस्तुति तथा झाँकी प्रदर्शन मुख्य आकर्षणका रूपमा रहेका थिए।

 

कमेन्ट गर्नुहोस्
Share: