
पोखरा। व्यवसायीहरूले सामाजिक सञ्जाल चलाएझैँ कर प्रणालीबारे पनि जानकार हुनुपर्नेमा जोड दिँदै आन्तरिक राजश्व कार्यालय पोखरा का प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगाना ले कर सचेतनाको आवश्यकता औंल्याएका छन्।
पोखरा उद्योग वाणिज्य संघ द्वारा सोमबार आयोजित मूल्य अभिवृद्धि कर (भ्याट) तथा करसम्बन्धी तालिम कार्यक्रममा बोल्दै उनले रोचक शैलीमा प्रश्न गरे, “हामीलाई टिकटक र फेसबुक चलाउन कसैले सिकाएको होइन। तर कर दाखिला गर्ने कुरा चाहिँ नजान्ने भन्न मिल्छ र ?”
उनले नेपालको कर प्रणाली स्वघोषणामा आधारित रहेको स्पष्ट पार्दै कर प्रशासनका ८० प्रतिशत काम अनलाइनमार्फत हुने बताए। “कार्यालय धाउनै पर्दैन, वेबसाइटमा सधैँ सोधिने प्रश्नका उत्तर उपलब्ध छन्। थोरै अध्ययन गरे पुग्छ,” उनले भने।
ढुंगानाका अनुसार भ्याट व्यवसायीले तिर्ने कर नभई उपभोक्ताबाट संकलित रकम राज्यलाई बुझाउने प्रक्रिया मात्र हो। “उक्त रकम एक महिनासम्म बिना ब्याज प्रयोग गर्न पाइन्छ,” उनले जानकारी दिए। साथै दण्ड र जरिवानाबाट जोगिन व्यवसायी स्वयं सचेत हुनुपर्नेमा उनले जोड दिए।
संघले जर्मन सहयोग संस्थाको दीगो विकासका लागि राजश्व सुधार परियोजनाको सहयोगमा तालिम सञ्चालन गर्दै आएको छ। संघका अध्यक्ष गोकर्ण कार्की ले हालसम्म चार वटा तालिम सम्पन्न भइसकेको र विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीलाई लक्षित गरी कार्यक्रम विस्तार गरिने बताए। सोमबार र मंगलबार फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीसँगको सहकार्यमा दुई दिने तालिम आयोजना गरिएको उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष कार्कीले “कर तिर्नु व्यवसायीको धर्म हो” भन्दै कर प्रणाली अझ सरल र व्यवसायमैत्री हुनुपर्ने धारणा व्यक्त गरे। फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष थानेश्वर तिवारी ले कर प्रणालीबारे स्पष्ट जानकारी पाए व्यवसाय सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरे।
कार्यक्रमको सहजीकरण चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठ ले गरेका थिए भने सञ्चालन शोभा गौतम ले गरेकी थिइन्।व्यवसायीहरूलाई कर सचेतना अभिवृद्धि गर्दै पारदर्शी र जिम्मेवार व्यवसायिक वातावरण निर्माण गर्ने उद्देश्यसहित तालिम कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
