३५ प्रतिशत मतदातालाई भेटेपछि मनोज गुरुङको दाबी- कास्की-३ मा कांग्रेसको ‘छनक’

Share:

पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङले मतदातासँगको भेटघाटबाट आफूलाई जितको स्पष्ट संकेत मिलिसकेको दाबी गरेका छन्। सोमबार साँझदेखि पोखरा क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका गुरुङले मंगलबार पोखरा-२ का मतदातासमक्ष बोल्दै जनताका समस्या समाधानका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे। उनले कास्कीका विभिन्न पालिकामा मतदाता भेटघाटका क्रममा उत्साहजनक समर्थन पाएको बताए।

“दुई पालिकाका मतदाता भेटेर भर्खर पोखरा आएको छु। सकारात्मक प्रतिक्रियाले हौसला थपिएको छ, निकै उत्साहित छु,” गुरुङले भने। आफ्नो निर्वाचन क्षेत्रमा करिब ३५ प्रतिशत मतदातासँग प्रत्यक्ष भेटघाट गरिसकेको उल्लेख गर्दै उनले त्यसैबाट ‘छनक’ आइसकेको दाबी गरे।

“कांग्रेसमा उभार आएको महसुस गरेको छु। यसलाई अब ब्यालेटमा परिणत गरेर देश बदल्न लाग्नुपर्छ,” उनले भने। विगतमा विभिन्न कारणले असन्तुष्ट रहेका कांग्रेसी कार्यकर्तासमेत यसपटक उत्साहित र एकताबद्ध देखिएको उनको भनाइ छ।

निर्वाचन प्रचारलाई थप सशक्त बनाउन गुरुङ र समानुपातिकतर्फका उम्मेदवार आइबहादुर गुरुङ अबका केही दिन पोखरा क्षेत्रमा केन्द्रित हुने भएका छन्। क्षेत्र नम्बर ३ अन्तर्गत पोखराका ११ वटै वडामा घरदैलो सम्पन्न गरेपछि पुनः अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका बाँकी स्थानमा पुग्ने कार्यक्रम तय भएको छ।

निर्वाचन परिचालन समिति संयोजक युवराज कँवरका अनुसार आगामी दिनमा केही स्थानमा चुनावी सभा तथा कोणसभा आयोजना गर्ने तयारी पनि भइरहेको छ।

कास्की-३ मा कांग्रेसले यसपटक ‘जनताको भरोसा र परिवर्तनको एजेन्डा’लाई मुख्य नाराका रूपमा अघि सारेको छ। मतदाता भेटघाटबाट देखिएको उत्साहलाई मतमा परिणत गर्न पार्टी पंक्ति पूर्णरूपमा परिचालित भएको नेताहरूको दाबी छ।

कमेन्ट गर्नुहोस्
Share: