म्याग्दीमा चुनावी तापक्रम उच्च : महावीर पुनको प्रवेशले रोचक बन्दै प्रतिस्पर्धा

Share:

पोखरा । प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचन नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीको राजनीतिक वातावरण तातिएको छ। उम्मेदवारहरू गाउँ-गाउँ केन्द्रित भएर घरदैलोमा व्यस्त हुँदा सदरमुकाम बेनी बजारमा खासै चहलपहल नदेखिए पनि चुनावी चर्चा भने चुलिएको छ। एउटामात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यसपटक १२ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रमुख प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार महावीर पुन देखिएका छन्।  साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर सुवेदी लगायतका उम्मेदवार पनि मैदानमा छन्।

पूर्वमन्त्री तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय छवि बनाएका महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएपछि म्याग्दीको राजनीति थप तरंगित बनेको छ। दूरदराजका गाउँ-बस्तीमा सक्रिय भेटघाट गरिरहेका पुनप्रति युवा पुस्तादेखि पाका मतदातासम्म आकर्षण बढ्दो देखिएको छ।

धेरै मतदाता ‘भोट चेन्ज’को मनोविज्ञानमा देखिँदा यसले परम्परागत दलहरूलाई चुनौती थपेको विश्लेषण गरिएको छ। यसअघि २०७४ मा वाम गठबन्धन र २०७९ मा पाँच दलीय गठबन्धनमार्फत प्रतिस्पर्धा गरेका दलहरू यसपालि एक्लाएक्लै मैदानमा उत्रिएका छन्।

त्यसैले कांग्रेस, एमाले र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय कडा भिडन्त हुने संकेत देखिएको छ। पछिल्ला तीन संघीय निर्वाचन परिणामले म्याग्दीमा एमाले बलियो शक्तिका रूपमा देखिएको छ। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा एमालेका नवराज शर्माले १५,९५५ मत ल्याउँदै जितेका थिए।

२०७४ मा वाम गठबन्धनबाट एमालेका भुपेन्द्रबहादुर थापा २३,३०८ मतसहित विजयी भएका थिए। २०७९ मा भने कांग्रेसका खमवीर गर्बुजाले २४,०२१ मत ल्याएर एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका थिए। समानुपातिक मत परिणाममा पनि एमालेको मत आधार स्थिर देखिन्छ भने कांग्रेसको मत केही घट्दो देखिएको विश्लेषण छ। यद्यपि गठबन्धनको समीकरणले प्रत्यक्षतर्फ नतिजा उल्ट्याउन सक्ने देखिएको थियो।

स्थानीय तहको शक्ति सन्तुलन

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका छन्। पछिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले धवलागिरी र रघुगंगा गाउँपालिका जितेको छ भने बेनी नगरपालिका, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिका एमालेको पोल्टामा परेका छन्। वडास्तरमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मिश्रित शक्ति सन्तुलन देखिन्छ।

जिल्लामा कुल ८६ हजार ३९७ मतदाता रहेका छन्। जसमध्ये ४४ हजार ६४ महिला, ४२ हजार ३३२ पुरुष र एक जना अन्य मतदाता छन्। मतदानमा अझै दुई साताभन्दा बढी समय बाँकी रहेकाले मतदाताको ‘मुड’ परिवर्तन हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको विश्लेषकहरू बताउँछन्। तर हालसम्मको माहोलले म्याग्दीमा यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने संकेत दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: