
पोखरा । कास्की क्षेत्र नं.३ का नेपाली कांग्रेस उम्मेदवार मनोज गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेका छन्। दुई वर्षअघि सञ्चालनमा आएको विमानस्थलबाट अझै नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा गुरुङले यस विषयलाई आफ्नो चुनावी संकल्पको मुख्य एजेन्डा बनाएका हुन्।
उनका अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्ससँग समन्वय, सशक्त पर्यटन प्रवर्द्धन कार्यक्रम र निजी क्षेत्रसँग सहकार्यमार्फत पोखरालाई प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिनेछ।
विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि होटल, रेस्टुरेन्ट, यातायात, ट्रेकिङ र साहसिक पर्यटन क्षेत्रमा व्यापक रोजगारी सिर्जना हुने गुरुङको विश्वास छ। यसले स्थानीय युवालाई आफ्नै ठाउँमा अवसर दिलाउने मात्र होइन, विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्ने उनको दाबी छ।
उनले पोखरालाई प्राकृतिक सौन्दर्य, धार्मिक सहिष्णुता र दिगो पर्यटनको राजधानीका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। वातावरण संरक्षण, स्थानीय संस्कृति प्रवर्द्धन र व्यवस्थित पर्यटन विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित उनले मतदातासँग समर्थन मागेका छन्।
गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र पारेका छन्। सोमबारदेखि पोखराका वडा नं.१, २ र ३ मा कार्यक्रम सम्पन्न गरिसकेका उनी शुक्रबार अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पुग्ने र शनिबार पोखरा-१९ मा केन्द्रित हुने कार्यक्रम रहेको छ।
उनले कांग्रेस “रूपान्तरणको बाटोमा अघि बढेको” दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले काम गर्नेछु, सार्वजनिक स्रोत-साधनको दुरुपयोग हुन दिने छैन,” उनले भने।
स्थानीय मतदाताले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका विषय उठाएका थिए भने गुरुङले ती सबै मुद्दालाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्। समानुपातिक उम्मेदवार आइबहादुर नेपालीले समेत दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरेका छन्।
मनोज गुरुङको यो घोषणा कास्की-३ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिएको छ।
