
पोखरा । स्थानीय युवायुवतीलाई सीपमार्फत स्वरोजगार बनाउने उद्देश्यसहित लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने सिलाई-कटाई तालिम आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ। तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा संघको समन्वयमा सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले सीपयुक्त उद्यमी उत्पादन गर्नु संघको प्राथमिकता रहेको बताउँदै तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरिन्। “तालिम लिएर मात्र होइन, त्यसलाई व्यवसायमा रुपान्तरण गर्न सके मात्र वास्तविक सफलता हासिल हुन्छ,” उनले भनिन्।
त्यसैगरी तालिम केन्द्रका प्रमुख अनिल सुवेदीले सीप सिकेर स्वरोजगार बन्ने संस्कार विकास गर्न केन्द्रले निरन्तर जोड दिँदै आएको उल्लेख गरे। उनले स्थानीय आवश्यकता अनुसार माग भएमा यस्ता थप तालिम लेखनाथमै सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्यमी बन्ने लक्ष्यसहित तालिममा सहभागी भएकाहरुलाई शुभकामना व्यक्त गर्दै सीप र मेहनत नै सफलताको मुख्य आधार भएको बताए।
३ महिनासम्म सञ्चालन हुने तालिमकी प्रशिक्षक ममता बस्यालले नियमित उपस्थितिसहित ध्यानपूर्वक अभ्यास गर्न आग्रह गर्दै भविष्यमा सफल व्यवसायी बन्ने लक्ष्यका साथ अघि बढ्न प्रशिक्षार्थीहरुलाई प्रेरित गरिन्।
तालिमका लागि आवेदन दिएका ५० भन्दा बढीमध्ये २१ जना छनोट गरी तालिम सञ्चालन गरिएको महासचिव भरतराज ओझाले जानकारी दिए। स्थानीय स्तरमै सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहित शुरु गरिएको यो तालिमले लेखनाथ क्षेत्रका युवायुवतीलाई आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।
