
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार हेमजंग गुरुङले पोखराको समग्र विकासका लागि संसदमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
पोखराको विरौटामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न व्यवस्था परिवर्तन आवश्यक रहेको बताएका हुन्। “भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्न कडा कारबाही अपरिहार्य छ,” उनले भने, “संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्र स्थापना हाम्रो स्पष्ट एजेण्डा हो।”
गुरुङले पोखरामा विकास निर्माणका काममा देखिएको गतिरोध अन्त्य गर्ने, शहरमा बढ्दो विकृति-विसंगति हटाउने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
“मतदाताको शिर कहिल्यै नझुक्ने गरी काम गर्छु,” उनले विश्वास व्यक्त गर्दै फागुन २१ गते हुने मतदानमा आफूलाई विजयी गराउन आग्रह गरे। कास्कीवासीको आवाज सशक्त रूपमा संसदमा उठाउने अवसर दिन उनले मतदातासमक्ष अपिल गरेका छन्।
