अमरसिंह चौरमा कांग्रेसको शक्ति प्रदर्शन: गगन-विश्वप्रकाशको विशेष सम्बोधन, १५ हजार सहभागी हुने अपेक्षा

Share:

पोखरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा विशाल चुनावी आमसभा आयोजना गर्ने भएको छ।

आमसभामा पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रमलाई कांग्रेसले शक्ति प्रदर्शनका रूपमा लिएको छ।

कास्की जिल्ला कार्यसमितिका महासमिति सदस्य दीपक गुरुङका अनुसार सभामा करिब १५ हजार सहभागी हुने अपेक्षा गरिएको छ। गाउँगाउँबाट झन्डै १०० वटा गाडीमार्फत जनप्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी हुने तयारी गरिएको उनले जानकारी दिए।

“गण्डकी प्रदेशका १८ जना प्रत्यक्षतर्फका उम्मेदवारको एक/एक मिनेटको बायोसमेत प्रस्तुत गर्छौं,” उनले भने। सभापति किशोरदत्त बरालका अनुसार आमसभाको मूल नारा ‘बदल्यों कांग्रेस, बदल्छौं देश’ रहेको छ।

बदलिएको कांग्रेसले विधि, संस्थागत प्रणाली, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै युवाशक्ति, उद्यमशीलता र रोजगारी सिर्जनालाई केन्द्रबिन्दु बनाउने उनको भनाइ छ।

“यो सभा केवल नारामा सीमित रहने छैन,” बरालले पत्रकारहरूसँग भने, “हामी स्पष्ट दृष्टिकोण र परिणाममुखी कार्ययोजना जनता समक्ष प्रस्तुत गर्नेछौं।”

कांग्रेसले आमसभालाई लोकतान्त्रिक मूल्य र विचारको विजय सुनिश्चित गर्ने अभियानका रूपमा चित्रित गर्दै नेता, कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई व्यापक सहभागिताका लागि आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: