
पोखरा । पोखरामा युवा खेलाडीहरूको रोमाञ्चक प्रतिस्पर्धा सुरु भएको छ। उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा चौथो संस्करणको हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा धमाकेदार रूपमा सुरु भएको हो। प्रतियोगिताको व्यवस्थापन सविन मेमोरियल क्लबले गरेको छ।
प्लस-२ तर्फ पहिलो दिन ८ खेल सम्पन्न भए। उद्घाटन खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कूलले साविक विजेता गुरुकुल विद्या सदनलाई ३-२ गोलले स्तब्ध पार्दै विजयी सुरुआत गर्यो। ३० मिनेटको प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट तालमेल देखाएको स्टेप बाई स्टेप गत वर्षको उपविजेता टोली हो भने गुरुकुल यसपटक पहिलो खेलबाटै बाहिरिएको छ।
अन्य खेलहरूमा प्रतिभा सेकेन्डरी स्कूलले अक्सफोर्ड स्कूललाई पेनाल्टी सुटआउटमा ४-२ ले हरायो। निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो। न्यू ओआसिस एकेडेमी (बागलुङ) ले आदर्श विद्या मन्दिरलाई ४-१ ले पराजित गर्यो भने बराही आवासीय मावि (तनहुँ) ले ज्ञान बगैंचा इङ्ग्लिस बोर्डिङ स्कूललाई २-० ले हरायो।
चिल्ड्रेन लाइफ बोर्डिङ स्कूलले जेसीएलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दा डायमण्ड सेकेन्डरी स्कूलले अमर आदर्श बोर्डिङ स्कूलमाथि ३-० को जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयका प्रमुख सुवास पन्तले गरेका थिए। उनले खेलकुदले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मा, केन्द्रीय सल्लाहकार बाबुराम पन्त तथा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए।
२४ टोलीको प्रतिस्पर्धा
तीन दिनसम्म चल्ने प्रतियोगितामा प्लस-२ तर्फ १६ टोली र विश्वविद्यालय/कलेजतर्फ ८ टोली गरी कुल २४ टोली सहभागी छन्। कास्की, बागलुङ, तनहुँ, पर्वत र म्याग्दीका उत्कृष्ट विद्यालय टोलीहरू मैदानमा उत्रिएका छन्।
विश्वविद्यालयतर्फ इन्फर्मेटिक्स कलेज, पोखरा लिंकन इन्टरनेशनल कलेज, सोच कलेज अफ आईटी, लेक सिटी कलेज एण्ड रिसर्च सेन्टर, गेन्स कलेज, पोखरा इन्जिनियरिङ कलेज र इन्फोम्याक्स कलेज अफ आईटी एण्ड म्यानेजमेन्ट प्रतिस्पर्धामा छन्।
प्लस-२ तर्फ विजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ५० हजार रुपैयाँसहित सम्मान प्राप्त गर्नेछन्। विश्वविद्यालयतर्फ विजेतालाई २५ हजार र उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
अघिल्लो संस्करणमा प्लस-२ तर्फ गुरुकुल विद्या सदन तथा कलेजतर्फ इन्फर्मेटिक्स कलेजले उपाधि जितेका थिए। यसपटक भने उपाधिका लागि प्रतिस्पर्धा झनै रोमाञ्चक हुने संकेत देखिएको छ।
