
पोखरा । रवि लामिछाने दमौली आइपुग्ने बित्तिकै विरोधको सामना गर्नुपरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई उज्यालो नेपाल पार्टीका समर्थकहरूले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन्।
चितवनमा सभा सम्पन्न गरी तनहुँको दमौली कार्यक्रममा सहभागी हुन पुगेका लामिछानेविरुद्ध दमौलीको मुख्य चोकमा जम्मा भएका उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका थिए।
निर्वाचन आचारसंहिता विपरीत प्रदर्शन गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीका अनुसार घटनाबारे प्रमुख जिल्ला अधिकारीसहित छलफल भइरहेको छ।
नियन्त्रणमा लिइएका आफ्ना समर्थकलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरू पृथ्वीराजमार्गमै बसेर र सुत्दै विरोध जनाइरहेका छन्। प्रहरीसँग भनाभनसमेत भएको छ भने माइक्रोफोनमार्फत नाराबाजी जारी छ। प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।
तनहुँ क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीबाट मञ्जिल थापा उम्मेदवार छन् भने रास्वपाबाट उपाध्यक्ष स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्। चुनावी माहोल तातेका बेला दमौलीको यो घटनाले थप राजनीतिक तरंग ल्याएको छ।
