कास्कीमा निर्वाचनका लागि २१९० कर्मचारी खटिए: बदर मत घटाउन घरदैलो अभियान जारी, ३ लाख बढी मतदाता उत्साहित

Share:

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा तयारी तीव्र पारिएको छ। यसपटकको मुख्य लक्ष्य भनेको बदर मतको संख्या घटाउनु हो। प्रदेश निर्वाचन कार्यालय पोखराले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ। सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार गत फागुन ३ गतेदेखि सुरु भएको घरदैलो मतदाता शिक्षा अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।

जिल्लाका पाँचै पालिकाका ७२ वडामा स्वयंसेवकहरू परिचालित छन्। उनीहरूले नमुना मतपत्रमार्फत सही तरिकाले मतदान गर्ने अभ्यास गराइरहेका छन्।

विसं २०७९ को निर्वाचनमा १ लाख ७८ हजार ८०६ मतमध्ये ८ हजार ४६४ मत (५ प्रतिशत ) बदर भएको थियो। मतपत्रमा गलत स्थानमा छाप लगाउने, कोठाभन्दा बाहिर छाप लगाउने तथा गलत तरिकाले पट्याउने जस्ता कारणले मत बदर भएको पाइएको थियो।

“विगतमा बदर मतको प्रतिशत उच्च देखिएकाले यसपटक हामीले मतदाता शिक्षामा विशेष ध्यान दिएका छौँ,” सूचना अधिकारी न्यौपानेले भने ।

निर्वाचन सम्पन्न गर्न जिल्लामा २ हजार १९० जना कर्मचारी परिचालित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्तिपत्र वितरण गरिसकेको छ।

कास्कीमा ३ निर्वाचन क्षेत्र, १५३ मतदानस्थल, ३६३ स्थायी मतदान केन्द्र, २ अस्थायी केन्द्र (कारागार) र जिल्ला समन्वय समिति गरी कुल ३६५ मतदान केन्द्र रहेका छन् ।

मतदान अधिकृतले प्रत्येक केन्द्रमा ३ जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ। यसपटक कास्की जिल्लामा मतदाताको संख्या बढेर ३ लाख ८ हजार ५७२ पुगेको छ। विसं २०७९ मा यहाँ २ लाख ९१ हजार ५६८ मतदाता थिए।

निर्वाचनमा १८ राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा ४४ पुरुष र ५ महिला रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: