
पोखरा। कास्की-१ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका-२८ का मतदातासँग भेटघाट गरेका छन्। उनी आइतबार आफ्नो जन्म वडा पुगेका हुन्।
जन्मगाउँ पुगेका अधिकारीलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। ठाउँ-ठाउँमा माला र टीकाले स्वागत गर्दा केहीबेर उत्साहपूर्ण वातावरण बनेको थियो। सो अवसरमा उनले यसअघि आफ्नै गाउँबासीको समर्थनमा जिल्ला समन्वय समिति कास्की को प्रमुख बन्ने अवसर पाएको स्मरण गर्दै यसपटक पनि भारी मतले विजयी गराउने विश्वास व्यक्त गरे।
“यहीँ जन्मे-हुर्केको मान्छे हुँ। तपाईंहरुकै भान्सामा खाएको, सधैँ यहीँ भेटिने र यहीँ काम गरेको मान्छे हुँ,” उनले भने, “यो हाम्रो गाउँका लागि अर्को अवसर हो। गाउँलेले मलाई भारी मत दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ।” उनले आफू कुनै पदमा नहुँदा पनि गाउँको विद्यालय सुधार, सडक निर्माण तथा खानेपानी आयोजना निर्माणमा निरन्तर सक्रिय रहेको दाबी गरे।
वडाका केही स्थानमा अझै खानेपानीको समस्या रहेकाले त्यसको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाए। यसैबीच, पोखराका पूर्वमेयर मानबहादुर जिसी को पहलमा कालिकासम्म पुग्ने सडक कालोपत्रे भएको स्मरण गर्दै उनले वडा नम्बर २८ मा एमालेको पहलमा उल्लेखनीय विकास कार्य भएको बताए।
