३८८ मिटर लामो झोलुङ्गे पुल : म्याग्दी-बागलुङ जोड्दै बढ्दै पर्यटकीय आकर्षण

Share:

पोखरा । म्याग्दी र बागलुङ जिल्लाको सीमाना भएर बगेको ढोडेनी खोलामाथि निर्माण गरिएको ३८८ मिटर लामो झोलुङ्गे पुल अहिले स्थानीयका लागि सुविधा मात्र नभई पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने १७० मिटर उचाइ भएको यो पुलबाट आसपासका प्राकृतिक दृश्यावलोकन गर्न आउनेहरूको संख्या बढ्दै गएको छ। रत्नेचौर र कुडुले दुबै गाउँलाई पर्यटकीय सम्भावना बोकेका गाउँका रूपमा चिनिन्छ।

रत्नेचौरकी सुशीला भण्डारीका अनुसार पुलमा रमाउन र प्राकृतिक दृश्यावलोकन गर्न आउने पर्यटकहरू यहाँ बढ्दै गएका छन्। बागलुङको पञ्चकोट र कुडुलेस्थित शालग्राम सङ्ग्रहालय घुम्न आएका धार्मिक पर्यटकहरू समेत पुलसम्म पुगेर रमाउने गरेका छन्। तीन वर्षअघि २०७९ सालमा सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले करिब तीन करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको थियो। बेनी नगरपालिका-१ का वडाअध्यक्ष टेकबहादुर थापाका अनुसार पुलले दुई जिल्ला जोड्नाका साथै कृषि उपजको बिक्री र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको छ।

उनका अनुसार पुल निर्माणअघि कुडुले पुग्न करिब डेढ घण्टा हिँड्नुपर्ने बाध्यता थियो। अहिले भने पुल बनेपछि पाँच मिनेटमै यात्रा पूरा गर्न सकिने भएको छ। “पुलले सुविधा मात्रै दिएको छैन, रत्नेचौरमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणमा समेत सहयोग पुगेको छ,” वडाअध्यक्ष थापाले भने, “बागलुङको पञ्चकोट र कुडुलेको शालग्राम सङ्ग्रहालय घुम्न आएका धार्मिक पर्यटक तथा रत्नेचौरको भाइरल रोड, तोरीबारी र ज्यामरुककोट घुम्न आउने पर्यटकहरू पुलसम्म पुगेर म्याग्दी, बागलुङ र पर्वतका प्राकृतिक सौन्दर्य अवलोकन गरिरहेका छन्।”

बेनी-बागलुङ सडकखण्डको पूर्वतर्फ रत्नेचौरस्थित श्रीलक्ष्मीहरि मन्दिर नजिकै निर्माण गरिएको पुलले आसपासका गाउँका बासिन्दाको आर्थिक गतिविधिलाई पनि सहज बनाएको छ। रत्नेचौरका मेखबहादुर बोगटीका अनुसार अर्जम, रत्नेचौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे र भान्सालगायत गाउँमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा पुलले ठूलो भूमिका खेलेको छ। उनका अनुसार पुलकै कारण बागलुङ पुगेका पर्यटकहरू रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर तथा धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरी अवलोकन गर्न पनि पुग्ने गरेका छन्।

यससँगै म्याग्दीमा तीन सय मिटरभन्दा लामो झोलुङ्गे पुलको संख्या तीन पुगेको छ। यसअघि रघुगङ्गा गाउँपालिका-१ बेग र बादुक जोड्ने ३६५ दशमलव ८० मिटर लामो तथा १४८ मिटर अग्लो पुल निर्माण गरिएको थियो। त्यस्तै मालिका गाउँपालिका-७ बिमवाङ र धवलागिरि गाउँपालिका-६ रिख जोड्ने ३५० मिटर लामो अर्को झोलुङ्गे पुल पनि सञ्चालनमा छ। यी पूर्वाधारले स्थानीय आवागमन सहज बनाउनुका साथै ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: