
पोखर । कृष्ण थापा, जो नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज थिए, बिहीबार पोखरामा आयोजित पार्टी बैठककै क्रममा अचानक ढलेपछि उनको मृत्यु भएको छ। कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक सकिएपछि कार्यकर्तासँग अनौपचारिक कुराकानी गरिरहेका बेला थापालाई एक्कासि हृदयघात भएको बताइएको छ। उनलाई तुरुन्तै उपचारका लागि मणिपाल अस्पताल लगिए पनि चिकित्सकले बचाउन सकेनन्।
बैठकमा सहभागी एमाले नेताहरुका अनुसार बैठकमा चुनावी परिणाम र टिकट वितरणबारे नेतामाथि कडा प्रश्न उठेका थिए। सबैको कुरा सुनेपछि थापाले अत्यन्त सन्तुलित ढंगले कार्यकर्ताका प्रश्नहरूको जवाफ दिएका थिए।
सम्बोधनका क्रममा उनले निर्वाचन परिणामको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने घोषणा समेत गरेका थिए। “मलाई पार्टीले टिकट दिएको हो, पछि खोसिएको पनि हो। तर पार्टीले शर्मनाक हार व्यहोरेको छ। उठेका सबै प्रश्नको जवाफ दिन तयार छु बैठकमा भनेका थिए,” एक एमाले नताले भने ।
उनका अनुसार थापाले आफूलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरे पनि स्वीकार गर्ने बताएका थिए र मन्तव्य सक्दै सबैलाई धन्यवाद दिएका थिए। बैठक सकिएपछि एमालेका अन्य नेताहरु मञ्चमा पुगेर थापासँग हात मिलाउँदै गर्दा अचानक उनको घाँटीबाट अस्वाभाविक आवाज आएको थियो।
“हात मिलाउने बेलामा एक्कासि उहाँबाट घुरेको आवाज आयो। शंका लागेपछि तुरुन्तै जुत्ता खोलिदिएँ र गाडी मगाएर अस्पताल लग्यौँ,” नेताहरुले भने । केवल ९ मिनेटमै अस्पताल पुर्याइएको भए पनि चिकित्सकले थापालाई बचाउन सकेनन्।
थापा हालै सम्पन्न २०२२ नेपाल प्रतिनिधि सभा निर्वाचन मा कास्की-२ बाट उम्मेदवार बन्ने चर्चा थियो। तर अन्तिम समयमा उनको टिकट खोसिएर रश्मि आचार्य लाई उम्मेदवार बनाइएको थियो। बैठकमा सन्तुलित सम्बोधन गरेपछि हात मिलाउँदै गर्दा अचानक भएको यो घटनाले एमाले कार्यकर्तालाई स्तब्ध बनाएको छ।
