
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ। ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ३० गतेदेखि सुरु भएको सम्मेलनले नेपालको आर्थिक समृद्धिमा एकताबद्ध भएर लाग्ने र गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्ने साझा संकल्प गरेको छ।
सम्मेलनले जारी गरेको घोषणापत्रमा नेपालमा गैरआवासीय नेपालीको लगानीलाई सरल र सहज बनाउन विद्यमान कानूनी जटिलता हटाउन सरकारसँग जोडदार माग गरिएको छ। एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन लगायतका कानूनहरू संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सम्मेलनले आग्रह गरेको छ। यस्तै, नेपाल सरकार र एनआरएनएको संयुक्त लगानीमा स्थापित ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ बाट जारी हुने धितोपत्रको सीमा ८५ प्रतिशत कायम गर्न समेत माग गरिएको छ।
घोषणापत्रमा संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानूनी र नीतिगत सुधारको माग गरिएको छ। विशेषगरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता सम्बन्धी ऐन यथाशीघ्र संशोधन गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ।
सम्मेलनले मध्यपूर्वको वर्तमान परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यहाँ संकटमा परेका नेपाली श्रमिकहरूको सुरक्षा, राहत र उद्धारका लागि सरकार र अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सम्मान र अधिकार सुनिश्चित गर्न नीतिगत सुधारको पहल गर्ने विषयलाई पनि घोषणापत्रले प्राथमिकता दिएको छ।
प्रवासमा जन्मिएका दोस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोड्न नेपाली भाषा, कला र संस्कृतिको प्रवद्र्धन गर्ने र विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान एवं प्रविधिलाई नेपालको विकासमा भित्र्याउने संकल्प समेत गरिएको छ। पर्यटन प्रवर्द्धन र जलविद्युत, कृषि तथा सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी प्रोत्साहित गर्ने संघको योजना छ।
सम्मेलनमा ४ हजार २ सय ८६ प्रतिनिधिहरूले भौतिक र भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए। परराष्ट्रमन्त्री बालानन्द शर्माले उद्घाटन गरेको सम्मेलनमा विभिन्न मन्त्रीहरू, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सरकारका उच्च पदाधिकारी र विश्वभरबाट आएका लगानीकर्ता एवं श्रमिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यसैगरी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले एनआरएनएभित्रको एकताले मुलुकको विकासमा नयाँ आशा जगाएको बताइन् । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको हितमा परिचालन गर्न सरकारले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरिन् ।
गत मङ्सिरमा भएको १० बुँदे सहमतिपछि एकताबद्ध रूपमा सम्पन्न यस सम्मेलनले संघलाई संस्थागत स्थायित्व दिएको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरिन् । सम्मेलनबाट हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
