
पोखरा । फागुन महिनामा कास्की जिल्लाको शान्ति सुरक्षामा चुनौती थपिएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार एक महिनामै १८३ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्, जसले बढ्दो आपराधिक गतिविधिप्रति चिन्ता बढाएको छ। दर्ता भएका मुद्दामध्ये ६४ वटा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०, आर्थिक अपराधका ३३ र अन्य ७६ वटा मुद्दा छन्। यी घटनामा संलग्न १३८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
अदालतबाट सजाय तोकिएर फरार रहेका २६ जनालाई पनि फागुनमै पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये १७ पुरुष र ९ महिला रहेका छन्। उनीहरूबाट १२ वर्ष ११ महिना २८ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै १ करोड २५ लाखभन्दा बढी बिगो रकम असुल गरिएको छ।
लागुऔषध नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ। फागुन महिनामा मात्रै १४ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ठूलो परिमाणमा ब्रुफिन, डाईजेपाम, फेनारगन, ब्राउन सुगर, ट्यापेन्डाडोल र गाँजा बरामद गरिएको छ।
पोखराका विभिन्न स्थानबाट अलग-अलग घटनामा महिलासहितका समूह र एक पुरुषलाई सयौं एम्पुल लागू औषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
७१ वर्षीया वृद्धामाथि लुटपाट गर्ने ३ जनालाई पक्राउ गरिएको छ। उनीहरूले वृद्धाको कानमा लगाएका सुनका गहना लुटेर फरार भएका थिए। प्रहरीको सक्रियतामा उनीहरू चोरीका सामानसहित पक्राउ परेका हुन्।
सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। महिलामाथि कुटपिट र सामाजिक अभियन्तामाथि दुर्व्यवहार गर्ने घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।
फागुनमा १७ वटा सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने ४ हजारभन्दा बढी सवारी साधनलाई कारबाही गर्दा ३४ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ। मापसे गर्ने १६ चालकलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले विभिन्न स्थानमा सिसीटिभी जडान गर्दै सुरक्षा सुदृढीकरणमा जोड दिएको छ। साथै ९ वटा आगलागीका घटनामा तत्काल उद्धार गरी करिब २५ लाख बराबरको क्षति न्यूनीकरण गरिएको छ।
फागुन महिनामा मात्रै ८ हजार ९ सयभन्दा बढी सेवाग्राहीले प्रहरी सेवा लिएका छन्। समुदाय र विद्यालय केन्द्रित गरी ४३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्।
प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरी सूक्ष्म रूपमा सक्रिय छ र सामाजिक सञ्जालमा आएका घटनालाई पनि गम्भीरतापूर्वक लिइएको छ।
