
काठमाडौं । युद्धग्रस्त युक्रेन अब आफ्नै सीमाभन्दा बाहिर पनि सक्रिय देखिएको छ। भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वमा इरानी ड्रोन आक्रमणबाट जोगाउन २०० भन्दा बढी सैन्य विज्ञ खटाइएको खुलासा गरेका छन्।
ब्रिटिश पत्रिका The Guardian का अनुसार, युक्रेनले २०१ सैन्य विशेषज्ञ खटाइसकेको छ भने थप ३४ जना तयारी अवस्थामा छन्। उनीहरू विशेषगरी इरानका ‘शाहिद’ ड्रोनको सामना गर्न परिचालन गरिएको बताइएको छ।
यसअघि पनि जेलेन्स्कीले जोर्डन मा रहेको अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि ‘इन्टरसेप्टर’ ड्रोन र विशेषज्ञ टोली पठाइएको जानकारी दिएका थिए। The New York Times ले अमेरिकाको अनुरोधमा युक्रेनी टोली तत्कालै खटाइएको जनाएको थियो।
इरानले प्रयोग गरिरहेको ड्रोनहरू करिब ५० हजार डलरभन्दा सस्ता छन्। तर तिनलाई रोक्न संयुक्त राज्य अमेरिका र इजरायल ले लाखौं डलर पर्ने महँगा ‘इन्टरसेप्टर’ मिसाइल प्रयोग गर्नुपरेको छ। यसले रक्षा प्रणालीमा ठूलो आर्थिक दबाब सिर्जना गरेको छ।
युक्रेनले रूससँगको युद्धमा ड्रोनविरुद्ध प्रभावकारी ‘इन्टरसेप्टर’ ड्रोन विकास गरिसकेको छ। यी ड्रोनहरूले आक्रमणकारी ड्रोनसँग ठोक्किएर नै नष्ट गर्ने क्षमता राख्छन्। यही अनुभवका कारण अहिले अमेरिका मात्र नभई खाडी राष्ट्रहरूले पनि युक्रेनसँग सहयोग मागिरहेका छन्।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ। त्यसको जवाफमा इरानले इजरायल र खाडी राष्ट्रहरूमा लगातार ड्रोन तथा मिसाइल प्रहार गरिरहेको छ।
युक्रेनले अहिले अमेरिकालाई दिएको सहयोगलाई रणनीतिक रूपमा पनि हेरिएको छ। डोनाल्ड ट्रम्प प्रशासनबाट रूससँगको युद्धमा नरम नीति आउने अपेक्षा युक्रेनले राखेको विश्लेषण भइरहेको छ।
