
काठमाडौं । सुशीला कार्की र रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, निर्वाचनपछिको परिस्थिति तथा सरकारको भूमिकाबारे महत्वपूर्ण छलफल भएको जनाइएको छ। भेटमा लामिछानेले कार्की नेतृत्वको सरकारले मुलुकलाई शान्तिपूर्ण राजनीतिक निकासतर्फ अघि बढाएको भन्दै बधाई तथा सम्मान व्यक्त गरे। उनले हालै सम्पन्न निर्वाचनलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गर्दै त्यसले देशलाई स्थिरता र सुरक्षित अवतरणतर्फ डो¥याएको उल्लेख गरे। सीमित स्रोत र छोटो समयमै निष्पक्ष तथा शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु प्रधानमन्त्रीको दृढ नेतृत्वको परिणाम भएको उनको भनाइ थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार लामिछानेले कार्कीको योगदान दीर्घकालसम्म स्मरणीय रहने बताउँदै आगामी दिनमा पनि उनको मार्गदर्शन आवश्यक रहने धारणा राखेका थिए। साथै, भावी सरकारका लागि उनको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे। जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा हासिल गरेको सफलताका लागि शुभकामना दिँदै जनतामा निराशा फैलिन नदिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सुझाव दिइन्।
उनले विशेषगरी युवाप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।प्रधानमन्त्री कार्कीले चुनौतीहरूका बीच धैर्य, इमानदारी र प्रतिबद्धतासहित काम गरे सकारात्मक परिणाम हासिल गर्न सकिने बताउँदै आलोचनाको सामना काममार्फत गर्नुपर्ने सुझाव दिइन्। भेटका क्रममा लामिछानेले वर्तमान सरकारका निर्णयप्रति कुनै असहमति नरहेको स्पष्ट पार्दै सरकारले आफ्नो कार्यकालको अन्तिम समयसम्म पूर्ण अधिकारका साथ काम गर्न पाउनुपर्ने धारणा राखे। उनले सरकारका सकारात्मक कदमलाई साथ दिने र नयाँ सरकार गठन नहुँदासम्म आवश्यक कामलाई तीव्रता दिनुपर्ने सुझाव समेत दिए।
