१२ बजेदेखि गोली, १९ भन्दा बढीको मृत्यु: ‘जेनजी’ आन्दोलनको दिनभरको टाइमलाइन

Share:

काठमाडौं । भदौ २३ को ‘जेनजी’ आन्दोलनको दिन बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन केही घण्टामै हिंसात्मक भिडन्तमा बदलिँदा राजधानी तनावग्रस्त बन्यो। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग ले सार्वजनिक गरेको विस्तृत समयरेखाले बिहानको प्लेकार्ड प्रदर्शनदेखि साँझसम्मको रक्तपातपूर्ण अवस्थासम्मको भयावह चित्र प्रस्तुत गरेको छ।

बिहान ८:२३ देखि विद्यार्थीहरू माइतीघर मण्डलामा भेला हुन थालेका थिए। १० बजेसम्म आइपुग्दा भ्रष्टाचारविरुद्ध नारा लगाउँदै भीड उल्लेख्य रूपमा बढिसकेको थियो। तर १०:२७ पछि केही समूह बिजुली बजारतर्फ मोडिँदा अवस्था बदलिन थाल्यो। १०:५२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली को तस्वीर च्यातिएको घटनाले आक्रोश थप चर्किएको देखिन्छ।

१०:५८ देखि प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ बढ्न थाले र ११:०० बजेदेखि सुरक्षाकर्मीसँग आमनेसामने भए। ११:४७ सम्म आइपुग्दा व्यारिकेट तोड्दै ठूलो भीड नयाँ बानेश्वर चोक हुँदै संसद भवनतर्फ अघि बढिसकेको थियो।

प्रहरीले वाटर क्यानन र अश्रुग्यास प्रयोग गरे पनि भीड झन् आक्रामक बन्दै संसद भवन गेटसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ। १२:०१ बाट प्रदर्शनकारीहरू संसद भवनको गेट र पर्खाल चढ्न थाले। १२:३० मा कर्फ्यू आदेश जारी भयो, तर त्यसअघि नै अवस्था नियन्त्रणबाहिर पुगिसकेको थियो।

१२:३७ आसपासदेखि प्रदर्शनकारीलाई लक्षित गरी गोली प्रहार भएको उल्लेख छ। त्यसपछि घाइतेहरूको संख्या तीव्र रूपमा बढ्दै गयो। १२:५५ पछि गोली लागेर घाइते हुनेहरूको संख्या ह्वात्तै बढेको प्रतिवेदनले देखाउँछ।

१३:०५ मा प्रदर्शनकारीको टाउकोमा गोली लागेको दृश्यसमेत सार्वजनिक भएको छ। त्यसैबीच प्रदर्शनकारीहरूले मोलोटोभ प्रहार गरे, ढुंगामुढा चर्कियो र प्रहरीले व्यापक रूपमा अश्रुग्यास प्रयोग गर्‍यो।

सिभिल अस्पतालमा १२:१७ देखि घाइते आउने क्रम बढ्दै १ बजेपछि गम्भीर घाइतेहरूको चाप अत्यधिक भएको देखिन्छ। अनलाइन मिडियाहरूले १:४० सम्म आइपुग्दा मृत्यु र दर्जनौं घाइतेको खबर दिन थालेका थिए।

१४:२२ मा संसद गेट अगाडि रहेको एम्बुलेन्समै आगजनी भएको घटनाले स्थिति झन् भयावह बनायो। विभिन्न स्थानबाट गोली चलेको, भवनका सिसा फुटेको र सर्वसाधारणसम्म घाइते भएको विवरण प्रतिवेदनमा समेटिएको छ।

१५:५४ पछि नेपाली सेनाको उपस्थिति बढेपछि स्थिति विस्तारै नियन्त्रणतर्फ गएको देखिन्छ। १६:०५ सम्ममा संसद परिसर आसपासको भीड हटाइएको थियो भने १८:१५ सम्म नयाँ बानेश्वर क्षेत्र सामान्य अवस्थामा फर्किएको उल्लेख छ।

कमेन्ट गर्नुहोस्
Share: