राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन खारेज

Share:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा क्रियाशील कर्मचारी युनियनलाई खारेज गरिएको छ । सरकारले ल्याएको शासकीय सुधार र मितव्ययिताको योजना कार्यान्वयन गर्ने क्रममा युनियन भङ्ग गर्ने निर्णय लिइएको हो । सार्वजनिक निकायको बोझ घटाउन र कार्यक्षमता बढाउन सरकारले यस्तो कदम चालेको हो ।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले ‘शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची’ स्वीकृत गरेको थियो । सोही कार्यसूचीको बुँदा नम्बर १२ मा प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता कायम गर्ने विषय समेटिएको छ । सोही बुँदामा उल्लेख भएबमोजिम कर्मचारी युनियन भङ्ग गर्ने निर्णयलाई बोर्डले कार्यान्वयनमा ल्याएको हो । यो निर्णयलाई बोर्डले स्वागत गर्दै युनियन खारेज गरेको जनाएको छ ।

युनियनका अध्यक्ष राजु ओलियाले युनियन भङ्ग भएको औपचारिक जानकारी दिएका छन् । उनले एक सूचना जारी गर्दै चैत १५ गतेदेखि नै लागू हुने गरी युनियन विघटन गरिएको बताए । ‘चैत १५ गतेदेखि नै लागू हुने गरी युनियन भङ्ग भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ ओलियाद्वारा जारी सूचनामा भनिएको छ ।

सरकारले अहिले विभिन्न संरचनाको पुनर्संरचना गर्ने प्रक्रिया सुरु गरेको छ । सार्वजनिक निकायको अनावश्यक खर्च कटौती गरी कार्यक्षमता सुधार्न यो निर्णय लिइएको हो । प्रशासनिक सुधारको यो नयाँ प्रयासले बोर्डको कार्यसम्पादनमा प्रभावकारिता आउने विश्वास गरिएको छ । यसअघि कायम रहेका संगठनात्मक संरचनाहरुलाई थप चुस्त बनाउन सरकारले १ सय बुँदे कार्यसूचीमार्फत विभिन्न सुधारका काम अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: