रञ्जन अधिकारी पोखरा, २२ वैशाख / पोखराको नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गर्भवति महिला सहित शिशुको ज्यान गएपछि उचित क्षतिपूर्ति र घटनामा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले रिले अनसन सुरु गरेका छन् ।
अस्पताल परिसरमै सोमबार दिउँसोदेखि अनसन सुरु गरेको आफन्तले जनाएका छन् । चिकित्सकको लापरबाहीको कारण आमा र बच्चा दुबैको ज्यान गएको भन्दै दुई दिन सम्म प्रदर्शनमा उत्रिएका पीडित र अस्पताल प्रशासनबीच जिल्ला प्रशासन कार्यालयको रोहवरमा भएको वार्ता निश्कर्षमा पुग्न नसकेपछि मृतकका आफन्तले सोमबारदेखि रिले अनसन थालेका हुन् । अस्पताल प्रशासन घटनाको जिम्मेवारी लिन नसक्ने अडानमा रहेपछि बाध्य भएर अनसन सुरु गर्नुपरेको पीडितहरुले बताएका छन् ।
उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि कारबाही तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी राख्ने भन्दै उनिहरुले शब बुझ्न समेत अस्विकार गरेका छन् । आफुहरुको उपचारका क्रममा कुनै गल्ती नगरेकाले क्षतिपूर्ति दिन नसकिने अस्पताल प्रशासनको अडान छ । पीडित पक्षले भने गण्डकी मेडिकल कलेजमा पटक पटक लापरबाहीले बिरामीको मृत्यु हुने गरेको र पावरका भरमा अस्पताल अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
