
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा शुक्रबार पोखरामा ‘निर्वाचन समीक्षा तथा कांग्रेसको अबको बाटो’ विषयक कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको दयनीय नतिजापछि आयोजित यस कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले आफू चुनावी परिणामबाट विचलित नभई गम्भीर आत्मसमीक्षामा रहेको बताए ।
चुनावअघि पोखराबाटै ‘अबकी बार, सय पार’ को नारा दिएर देशव्यापी अभियान चलाउनुभएका सभापति थापा समीक्षा कार्यक्रममा भने निकै गम्भीर र कम उत्साहित देखिनुहुन्थ्यो। १८ सिट रहेको गण्डकी प्रदेशमा मुस्ताङ र मनाङबाहेक अन्यत्र जित निकाल्न नसकेको र देशभर ३८ सिटमा खुम्चिएको कांग्रेसको अवस्थालाई लिएर नेताहरूले प्रश्न उठाएका थिए।
समीक्षाका क्रममा गण्डकीका जिल्ला सभापति र उम्मेदवारहरूले केन्द्रीय नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। स्याङ्जा कांग्रेसका सभापति राजु थापाले सभापति थापालाई चेतावनीपूर्ण शैलीमा भने, “हिजो दाइहरूले पेल्यो भन्नुहुन्थ्यो, अब तपाईंले सम्हालेर लैजाने बेला छ। फेरि अर्को दाइविरुद्ध हामी उठ्नु नपरोस्।” उनले विशेष महाधिवेशनका कारण चुनावमा पार्टी एकढिक्का हुन नसकेको र राष्ट्रिय(अन्तर्राष्ट्रिय परिस्थितिले पनि साथ नदिएको टिप्पणी गरे।
आफूमाथि उठेका प्रश्न र गुनासा सुनेपछि सभापति थापाले आफू चिन्तित नभई चिन्तनमा रहेको दाबी गरे। “चिन्ता डर र प्रतिक्रियासँग जोडिएको हुन्छ, तर चिन्तन आत्मसमीक्षा र विश्लेषणसँग जोडिएको हुन्छ,” उनले भने, “अहिलेको समय भनेको कम बोल्ने र अरूलाई बढी सुन्ने हो। म चिन्तनकै अभियानमा छु।”
उनले पार्टीको जिम्मेवारीमा रहेकाले आफू सबैभन्दा बढी लचक भएर सबैलाई मिलाउने कोसिस गर्ने प्रतिबद्धता जनाए। साथै, आगामी असोजभित्र नियमित महाधिवेशन गर्ने र प्रदेश तथा स्थानीय तहको चुनावसम्म कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउने गरी मिहिनेत गर्ने उनले बताए।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले संसदीय दलको नेता छिट्टै चयन गरिने जानकारी दिए। उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपाल फर्किएर अनुसन्धानमा सघाउन आग्रह समेत गरे। त्यस्तै, महामन्त्री प्रदीप पौडेलले अबको राजनीतिमा प्रविधि र प्रचारशैली बदलिएको चर्चा गर्दै नेताहरू हरेक कुरामा ‘बेदाग’ हुनुपर्नेमा जोड दिए। पार्टी प्रवक्ता देवराज चालिसेले चुनावको हारजितलाई एउटा ‘ब्याटल’ को रूपमा मात्र लिन र विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका थिए।
