
पोखरा । पोखराको हेमजामा जारी १४ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्ने उपभोक्ताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। नयाँ वर्षको सार्वजनिक विदाका कारण पाँचौं दिन मंगलबार महोत्सव स्थलमा दर्शक र ग्राहकको थामिनसक्नु भीड लागेको हो।
महोत्सवको मध्यतिर आइपुग्दा मंगलबार साँझसम्म २० लाख रुपैयाँ भन्दा बढीको आलु कारोबार भएको आयोजकले जनाएका छन्। यहाँको आलु प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भइरहेको छ।
आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीका अनुसार मंगलबारसम्म करिब ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन्। जसमध्ये ४ हजार २ सय २५ घरपरिवारले आलु किनेर लगेका छन्। महोत्सवमा एकै परिवारले न्यूनतम १ केजीदेखि अधिकतम २ हजार १ सय केजीसम्म आलु खरिद गरेको पाइएको छ।
हेमजाको निलो आलु स्वास्थ्यकर, छिटो पाक्ने र स्वादिलो हुने भएकाले उपभोक्ताको पहिलो रोजाइमा परेको हो। ग्राहकको अत्यधिक चापका कारण आलु स्टलमा लाइन लाग्नुपर्ने अवस्था सिर्जना भएको छ।
आलु किन्न पोखराका साथै छिमेकी जिल्लाहरू स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी र मकवानपुरसम्मका मानिसहरू विष्णुपादुका खेल मैदान पुगेका छन्।
सांस्कृतिक कार्यक्रमले ततायो महोत्सव
महोत्सवको पाँचौं दिन मंगलबार मात्रै १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। सो अवसरमा लोकदोहोरी गायक शिव हमाल, राजु ढकाल, कृष्ण गुरुङ, नेत्र खड्का, ममता तामाङ लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति राखेका थिए। पप कन्सर्टतर्फ एन्जिला रेग्मी र गगन गुरुङको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए।
महोत्सवमा बुधबार समीक्षा अधिकारी, कुमार पुन, राजन कार्की लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारका स्टलहरू र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन्। साथै कृषि झाँकी प्रतियोगिता, बीउबिजन र कृषि यन्त्रको प्रदर्शनीले पनि कृषक र दर्शकलाई आकर्षित गरिरहेको छ।
