
पोखरा । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालित १४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज (शनिबार) समापन हुँदैछ।
विष्णुपादुका क्लबको आयोजनामा भएको यस महोत्सवको समापन समारोहलाई पोखरा महानगरपालिकाका प्रवक्ता एवम् पोखरा-२५ का अध्यक्ष मोतिलाल तिम्सिनाले सम्बोधन गर्ने कार्यक्रम छ।
महोत्सवको आठौं दिन (शुक्रबार) सम्मको तथ्याङ्क अनुसार दर्शकको उत्साहजनक सहभागिता देखिएको छ। आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीका अनुसार हालसम्म ८५ हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन्।
जसमध्ये ६ हजार ४ सय ४५ भन्दा बढी घरपरिवारले आलु खरिद गरी लगेका छन्। शुक्रबार साँझसम्म कुल ३३ लाख ४५ हजार रुपैयाँ बराबरको आलुको कारोबार भइसकेको आयोजकले जनाएको छ।
समापनका अवसरमा रत्यौली गीत तथा कृषि झाँकी प्रतियोगिताको नतिजा सार्वजनिक गरी विजेता समूहलाई पुरस्कृत गरिनेछ। साथै, महोत्सव सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्था एवं व्यक्तिहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवको अन्तिम दिन आज चर्चित कलाकार प्रकाश सपुतसहित प्रेमराज अधिकारी, सुनिता नेपाली, सीता परियार, राजेश भण्डारी, रमा गौतम लगायतको विशेष सांगीतिक प्रस्तुति रहने महासचिव विकल थापाले बताए। यसअघि शुक्रबार एलिना चौहान, चोलेन्द्र पौडेल लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिलाएका थिए।
आलुको पहाड निर्माण, ताजा तरकारी प्रदर्शनी, विभिन्न परिकार र कृषि यन्त्रहरूको प्रदर्शनी महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका थिए। स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यो महोत्सव पोखराको कृषि पर्यटनमा एक महत्वपूर्ण कडी बनेको छ।
