
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले पठन संस्कृति र शब्दप्रतिको आत्मीयता प्रवर्द्धन गर्ने उद्देश्यका साथ साहित्य पर्वको तयारीलाई तीव्र पारेको छ। आगामी वैशाख १२ गते वडा कार्यालय परिसरमा आयोजना हुने यस महोत्सवका लागि आशीर्वाद क्लब र अरण्यज्योति पुस्तकालयले समन्वय गरेका छन्।
वडाको ऐतिहासिक, धार्मिक र साहित्यिक पहिचानलाई थप उचाइमा पुर्याउन दोस्रो चरणको साहित्यिक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा मुख्य वक्ताका रूपमा प्रख्यात साहित्यकार तथा पत्रकार नारायण वाग्ले सहभागी थिए। उनले ‘मसीको सुगन्धदेखि एल्गोरिदमको गहिराइसम्म साहित्यको एक शताब्दी यात्रा’ विषयमा आफ्नो विशेष प्रस्तुति राख्ने।
कार्यक्रम संयोजक राजेन्द्र भण्डारीका अनुसार महोत्सवमा विभिन्न ६ वटा रोचक सत्रहरू सञ्चालन हुनेछन्। कलाकार दुर्गा बरालले लोककवि अलि मियाँ, जगन्नाथ सिग्देल र टेकबहादुर ढेवाजुको योगदानबारे ‘बितेका पाइला र आउने बाटो’ विषयमा अन्तर्संवाद गरेका छन्।
समाजशास्त्री डा. कपिल अधिकारीले ‘अक्षरदेखि एल्गोरिदमसम्मस् हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरूप’ बारे चर्चा गरे । उद्यमीहरू नारायण पौडेल र सुमेजराज भण्डारीसँग प्रविधि र औद्योगिक यात्राका विषयमा वार्ता हुनेछ।
साहित्यमा नारी प्रतिनिधित्वका विषयमा सरस्वती प्रतीक्षा र हसिना बस्नेतबीच संवाद हुनेछ। कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठसँग पोखराको सांगीतिक यात्राबारे कुराकानी र उनका उत्कृष्ट गीतहरूको प्रस्तुति रहनेछ।
महोत्सवमा स्थानीय प्रतिभाहरू धर्मराज अल्पायु, युवराज बराल, अमर धिताल, सरस्वती परियार र सरस्वती श्रेष्ठ सरुले आफ्ना सिर्जना र गायन प्रस्तुत गरे । वडाध्यक्ष किरण बरालले भौतिक पूर्वाधारसँगै बौद्धिक र सांस्कृतिक चेतना वडाको समग्र विकासका लागि अपरिहार्य रहेको बताए।
उनले भने, “हामीले साहित्यमार्फत वडाको ऐतिहासिक र जातीय विविधतालाई जोड्न खोजेका छौं, यसले नयाँ पुस्तालाई आफ्नो माटो र पहिचानसँग साक्षात्कार गराउनेछ।”
लोककवि अलि मियाँको जन्मभूमि रहेको यस वडाले भद्रकाली मन्दिर, जामे मस्जिद अक्सा र कमलपोखरी जस्ता ऐतिहासिक स्थलहरूको महत्त्वलाई समेत साहित्यमार्फत उजागर गर्ने लक्ष्य राखेको छ। तयारी अन्तिम चरणमा पुगेको यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न वडाले सबैमा आह्वान गरेको छ।
