
पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत मेगा वृक्षारोपण अभियानलाई तीव्रता दिइएको छ ।
पोखरालाई स्वच्छ, सुन्दर र हरित सहरका रूपमा विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत विश्व वातावरण दिवसको अवसरमा शुक्रबार महानगरका विभिन्न क्षेत्रमा ६ हजारभन्दा बढी बिरुवा रोपिएको छ ।
पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवा रोपिएका हुन् ।
सो अवसरमा नगर प्रमुख आचार्यले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि सबै नगरवासीलाई आ-आफ्नो स्थानबाट वृक्षारोपणमा सहभागी हुन आह्वान गरे ।
उनले घर, पसल तथा सार्वजनिक स्थल वरपर रोपिएका बिरुवाको नियमित संरक्षण, गोडमेल र स्याहारसम्भार गरी ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।
नगर प्रमुख आचार्यकाअनुसार वन विज्ञान अध्ययन संस्थान तथा वन तथा वातावरण क्षेत्रका विज्ञहरूको सुझावका आधारमा गरिएको अध्ययनपछि महानगरभित्रका करिब ७ सय किलोमिटर सडक तथा राजमार्ग, ६७ किलोमिटर नदी तथा खोला किनार र २९ सार्वजनिक स्थलअन्तर्गत १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका दुई लाख २६ हजार बिरुवा रोप्ने लक्ष्य तय गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महानगरको हरियाली प्रवद्र्धन अभियानलाई सफल बनाउन प्रत्येक नगरवासीले आफ्नो घर तथा टोल आसपासका बिरुवाको संरक्षणको जिम्मेवारी लिनुपर्ने बताए ।
उनले स्वच्छ, सफा र हराभरा वातावरण निर्माणका लागि महानगरपालिका नागरिकसँग सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरे ।
अभियानअन्तर्गत वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोक, गुलमोहर, बाँस, खयर, सिसौ, पाखुरी, रुद्राक्ष, लिची, बेल, अम्बा, किम्बु, कदम लगायतका विभिन्न प्रजातिका बिरुवा रोपिने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले वृक्षारोपणसँगै रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा समेत विशेष ध्यान दिँदै पोखरालाई वातावरणमैत्री र हरित सहरका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
