पोखरामा नेदरल्याण्ड्सबाट आएको १ हजार एलएसडी बरामद, भारतीय नागरिकसहित युगान्डाका ५ जना नियन्त्रणमा

Share:

पोखरा । पर्यटकीय नगरी पोखरामा पहिलो पटक ठूलो परिमाणमा कडा खालको लागुऔषध एलएसडी बरामद भएको छ। नेदरल्याण्ड्सबाट हुलाकमार्फत आएको १ हजार थान एलएसडीसहित भारतीय नागरिक पक्राउ परेका छन् भने छुट्टाछुट्टै घटनामा ५ जना युगान्डाली नागरिक पनि प्रहरी नियन्त्रणमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले भारतको केरलाका २८ वर्षीय आयुष अजितलाई पक्राउ गरेको हो।

पोखराको लेकसाइड क्षेत्रमा विदेशी नागरिकको गतिविधिमाथि निगरानी बढाइरहेका बेला उनी शंकास्पद अवस्थामा हुलाक कार्यालय वरपर घुमिरहेको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार होटल गोक्यो लेकको ठेगानामा नेदरल्याण्ड्सबाट आएको आरएन ४३८०८८९३५ एनएल नम्बरको चिठ्ठीबारे सोधपुछ गरिरहेका आयुषलाई निगरानीमा राखिएको थियो।

होटलमा बुझ्दा उक्त चिठ्ठी आफ्नो नभएको जानकारी पाएपछि हुलाक कर्मचारी र जनप्रतिनिधिको रोहबरमा चिठ्ठी खोल्दा स्टिकरजस्तो देखिने १ हजार थान एलएसडी फेला परेको थियो।

अनुसन्धानका क्रममा आयुष वैशाखको तेस्रो सातादेखि पोखरामा बस्दै आएको खुलेको छ। उनी बसेको सेदीस्थित होली बेसिल गेस्ट हाउसमा खानतलासी गर्दा प्रहरीले ७ लाख ४० हजार रुपैयाँ नगद र एक मोबाइल फोन समेत बरामद गरेको छ।

एलएसडी के हो ?

एलएसडी (लाइसर्जिक एसिड डाइइथिलामाइड) एक शक्तिशाली रसायनिक लागुऔषध हो, जसले मानिसको मस्तिष्कमा गम्भीर भ्रम, उत्तेजना र मानसिक असर उत्पन्न गर्छ। सानो कागजी स्टिकरको रूपमा प्रयोग हुने यो लागुऔषध नेपालमा विरलै फेला पर्ने गरेको भए पनि पोखरामा यति ठूलो परिमाणमा बरामद भएको पहिलो घटना भएको प्रहरीले जनाएको छ।

यसैबीच, पोखराबाट ५ जना युगान्डाली नागरिक पक्राउ परेका छन्। ४७ वर्षीय सामिम बासाबे र ५० वर्षीय टोना मारी अहमिम्बिसिब्वेलाई एक नेपाली नागरिकको ७ हजार रुपैयाँ र राष्ट्रिय परिचयपत्र चोरी गरेको आरोपमा पक्राउ गरिएको हो।

अन्य तीन जना युगान्डाली नागरिक भने मादक पदार्थ सेवन गरी होहल्ला गर्नुका साथै प्रहरीमाथि हातपात र अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा परेका छन्। उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

कास्की प्रहरीले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरणअनुसार एक महिनामै २०६ वटा मुद्दा दर्ता भएका छन्। प्रहरी प्रमुख एसपी नविन कार्कीका अनुसार ६६ बैंकिङ कसुर, ४० अभद्र व्यवहार, २० ठगी तथा १४ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

यस अवधिमा ३१ ग्रामभन्दा बढी खैरो हिरोइन र ११ लाख ४८ हजार रुपैयाँ नगदसहित रुबिना खातुन पक्राउ परेकी छन्। यस्तै मनिष शाही ठकुरीको साथबाट ३८ हजार ३४० चक्की टापेन्टाडोल र १ लाख ८९ हजार ५०० रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले ५ किलोभन्दा बढी गाँजासहित दुई जना तथा अर्को घटनामा ३ किलो ४०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

६५ फरार प्रतिवादी पक्राउ, ९० लाखभन्दा बढी जरिवाना असुल हुन बाँकी

जेठ महिनामै प्रहरीले ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूमाथि १४ वर्ष ४ महिना २९ दिन कैद सजाय र ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो। पक्राउ पर्नेहरू चेक अनादर, चोरी तथा सार्वजनिक अपराधका अभियुक्त हुन्।

पोखरा–१८ मा घर फोरेर सुन चोरी गर्ने र चोरीको सुन खरिद गर्ने दुई जनासहित विभिन्न चोरीका घटनामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट करिब १८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

यस्तै, फुटपाथमा जथाभावी पार्किङ गरिएका १ हजार ६० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ भने ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननमा प्रयोग भएका १४ वटा सवारीसाधन नियन्त्रणमा लिएर २ लाख २९ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

प्रहरीले बरामद लागुऔषध, नगद र पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ। केही अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् भने केही धरौटीमा रिहा भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: