
पोखरा । बजारमा सफल हुन गुणस्तरीय उत्पादन मात्रै पर्याप्त नहुने, त्यसलाई उपभोक्ताको विश्वास र भावनासँग जोड्न सक्नुपर्ने विज्ञहरूले बताएका छन्। यही उद्देश्यसहित पोखरा उद्योग वाणिज्य संघले स्केल अप नेपालको सहकार्यमा ब्राण्डिङ, मार्केटिङ र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विशेष तालिम सञ्चालन गरेको छ।
शुक्रबारदेखि सुरु भएको तीनदिने तालिममा ६१ जना उद्यमी तथा व्यवसायी सहभागी छन्। तालिममार्फत उत्पादनलाई उपभोक्ताको रोजाइको ब्राण्ड बनाउने, प्रभावकारी बजार विस्तार गर्ने तथा एआईको प्रयोगमार्फत उत्पादकत्व वृद्धि गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बदलिँदो बजार र प्रविधिको गतिसँगै व्यवसाय सञ्चालनको शैली पनि परिवर्तन भएको बताए।
“कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वकै काम गर्ने तरिका बदलिरहेको छ। प्रविधिको उपयोग नगर्ने व्यवसाय पछि पर्न सक्छन्। त्यसैले उत्पादकत्व वृद्धि र प्रतिस्पर्धात्मक क्षमता विकासका लागि नयाँ प्रविधिलाई आत्मसात् गर्न आवश्यक छ,” उनले भने।
उनका अनुसार गुणस्तरीय उत्पादनले मात्र बजारमा सफलता प्राप्त गर्न सक्दैन। उपभोक्तासम्म प्रभावकारी रूपमा पुग्न र प्रतिस्पर्धामा टिकिरहन ब्राण्डिङ तथा बजारीकरणमा पनि उत्तिकै ध्यान दिनुपर्छ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले सदस्य व्यवसायीहरूको क्षमता अभिवृद्धि र प्रविधिमैत्री व्यवसाय विकासका लागि संघले विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। सोही अभियानअन्तर्गत स्केल अप नेपालसँग सहकार्य गरी यो तालिम आयोजना गरिएको उनले जानकारी दिइन्।
तालिमका प्रशिक्षक सौरभ लोहनीले ब्राण्ड निर्माण केवल उत्पादन बेच्ने प्रक्रिया नभई उपभोक्ताको भावना र विश्वास जित्ने कला भएको बताए।
“मानिसले वस्तु मात्रै किन्दैन, उसले विश्वास र अनुभव पनि खरिद गरिरहेको हुन्छ। सफल ब्राण्डहरू उपभोक्ताको भावनासँग जोडिन सफल भएकाले विश्वभर स्थापित भएका हुन्,” उनले भने।
उनले एआईलाई व्यवसायिक उत्पादकत्व वृद्धि गर्ने प्रभावकारी साधनका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्दै आधुनिक व्यवसायका लागि प्रविधिसँगै अघि बढ्नु अपरिहार्य भएको बताए।
आइतबारसम्म सञ्चालन हुने तालिमले स्थानीय उद्यमी तथा व्यवसायीहरूलाई आधुनिक बजार व्यवस्थापन, डिजिटल प्रविधि र ब्राण्ड विकासका क्षेत्रमा नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ।
