पोखरामा भारतीय पर्यटकको ओइरो: होटल अकुपेन्सी ९० प्रतिशतसम्म, खुसी छन् व्यवसायी

Share:

 

पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय भारतीय पर्यटकहरूको उल्लेखनीय आगमन भएसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा पर्यटकीय क्षेत्रहरू भरिभराउ भएका छन्। सामान्यतया पर्यटन क्षेत्रको ‘अफसिजन’ मानिने यो समयमा समेत भारतीय पर्यटकको चहलपहलले पोखराको पर्यटन व्यवसायलाई चलायमान बनाएको छ।

यतिबेला पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइड, फेवाताल र तालबाराही मन्दिर क्षेत्रमा भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ। छिमेकी मुलुक भारतमा बढ्दो गर्मी, विद्यालय तथा कार्यालयको बिदा र नेपालसम्मको सहज पहुँचका कारण भारतीय पर्यटकहरूले पोखरालाई आकर्षक गन्तव्यका रूपमा रोजेका हुन्।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकहरूको आगमन उत्साहजनक रहेको छ। उनले पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट, डुंगा सयर, पदयात्रा तथा साहसिक पर्यटन गतिविधिहरूमा उल्लेखनीय वृद्धि भएको बताए।

पर्यटन व्यवसायीहरूका अनुसार पछिल्लो डेढ महिनाको अवधिमा मात्रै करिब डेढ लाख भारतीय पर्यटक पोखरा भित्रिएका छन्। पर्यटकको यही चापका कारण पोखराका होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुगेको छ। पाँचतारे होटलदेखि साना होटल तथा धर्मशालासम्म पर्यटकले भरिएका छन्।

पोखरामा दैनिक १० हजारभन्दा बढी पर्यटकलाई सहज रूपमा आवास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ। भारतीय पर्यटकहरू विशेषगरी तालबाराही मन्दिर, पुम्दीकोटस्थित विशाल शिव मूर्ति, केदारेश्वर, विन्ध्यवासिनी मन्दिर, मुक्तिनाथ तथा मनकामना मन्दिरको दर्शनका लागि आउने गरेका छन्। धार्मिक भ्रमणसँगै उनीहरू प्याराग्लाइडिङ, बन्जी जम्प, र्‍याफ्टिङ, डुंगा सयर तथा छोटो दूरीका पदयात्रामा पनि सक्रिय देखिएका छन्।

पर्यटक आगमनको प्रत्यक्ष लाभ फेवातालका डुंगा व्यवसायीहरूले पनि लिएका छन्। फेवा डुंगा व्यवसायी संगठनका सहसचिव धनबहादुर विकका अनुसार हाल दैनिक चारदेखि पाँच हजार भारतीय पर्यटकले फेवातालमा डुंगा सयर गरिरहेका छन्। बाराही घाटबाट मात्रै दैनिक १४० भन्दा बढी डुंगाहरू नियमित सञ्चालनमा रहेका छन्।

विगतमा दिनभर डुंगा कुरेर पनि आम्दानी नहुने अवस्था भोगेका व्यवसायी तथा मजदुरहरू अहिले भने पर्यटकको चापसँगै व्यस्त बनेका छन्।

होटल व्यवसायी पार्वती पाण्डेका अनुसार भारतीय पर्यटकहरू कोठाको मूल्यभन्दा खानाको मूल्यमा बढी मोलमोलाइ गर्ने स्वभावका हुन्छन्। भारतमा होटलका कोठा तुलनात्मक रूपमा महँगा हुने भएकाले उनीहरू यहाँको आवास शुल्कप्रति सन्तुष्ट रहने गरेको उनले बताइन्।

नेपाली नयाँ वर्षदेखि सुरु भएको भारतीय पर्यटकको आगमनको लहर असारसम्म पनि निरन्तर जारी रहेपछि पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको भारतमा थप प्रभावकारी प्रचारप्रसार गर्न सके आगामी दिनमा पर्यटक सङ्ख्या अझ वृद्धि हुने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: