ब्रेकिङ बाउन्ड्रीज क्रिकेट : छात्रतर्फ कालिका र छात्रातर्फ बाराही च्याम्पियन

Share:

पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसीसीको सहयोगमा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र/छात्रा अन्तरविद्यालय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका माध्यमिक विद्यालय र छात्रातर्फ बाराही माध्यमिक विद्यालयले उपाधि जितेका छन्।

पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा छात्रतर्फ कालिकाले जनप्रिय माध्यमिक विद्यालयलाई ७० रनले तथा छात्रातर्फ बाराहीले कालिका माध्यमिक विद्यालयलाई १२ रनले पराजित गर्दै च्याम्पियन बन्न सफल भए।

प्रतियोगिताका विजेता टोलीका खेलाडीले ६० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीलाई ४० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

पुरस्कार वितरण समारोहमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेन्द्र प्रताप चन्द, किडासा फाउण्डेशनका प्रतिनिधि सविन उदास, बसन्त पराजुली, सञ्जय आत्रेय, पोखरा महानगर क्रिकेट समितिका पूर्वअध्यक्ष वीरेन्द्र पुन तथा क्यानका पूर्वसदस्य ऋषिराम गौतमलगायतले विजेता तथा उत्कृष्ट खेलाडीलाई सम्मान गरेका थिए।

व्यक्तिगततर्फ छात्रतर्फ कालिकाका राज परियार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। नवप्रभातका अनिष रावत उत्कृष्ट ब्याटर र उत्कृष्ट बलर बने। छात्रातर्फ बाराहीकी हिरा घर्ती मगर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा कालिकाकी वर्षा पौडेल उत्कृष्ट ब्याटर र उत्कृष्ट बलर बन्न सफल भइन्।

छात्रतर्फको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको कालिकाले १७ ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो। उसका लागि सुसान्त क्षेत्रीले २१ रन जोडे भने जनप्रियका समिर कुमारले ५ र अमिर भट्टराईले २ विकेट लिए।

१०० रनको लक्ष्य पछ्याएको जनप्रिय २९ रनमै अलआउट भएपछि कालिकाले ७० रनको फराकिलो जित निकाल्यो। जनप्रियका सन्देश स्याङताङले सर्वाधिक १२ रन बनाए। कालिकाका सुमन घर्तीले ४ विकेट लिएर फाइनलको प्लेयर अफ द म्याच घोषित भए भने राज परियारले ३ विकेट लिए।

छात्रातर्फको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको बाराहीले सबै विकेट गुमाएर ६७ रन बनाएको थियो। सुस्मिता श्रेष्ठले सर्वाधिक १६ रन बनाइन्। कालिकाका चुनिसा मगरले ४ तथा वर्षा पौडेलले ३ विकेट लिए। जवाफी ब्याटिङमा कालिकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सकेपछि बाराही १२ रनले विजयी बन्यो।

कालिकाकी वर्षा पौडेलले १३ रन जोडिन् भने बाराहीकी हिरा घर्ती र कुसुम राईले समान २–२ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेकी हिरा घर्ती फाइनलको प्लेयर अफ द म्याच घोषित भइन्।

एक सातासम्म सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ ३२ र छात्रातर्फ १६ विद्यालयको सहभागिता रहेको थियो। समापन समारोहमा आयोजक समितिका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै छात्रवृत्ति कोषका लागि ब्रिटिस गोर्खाली क्रिकेट लिगका गमबहादुर गुरुङले १ लाख रुपैयाँ, जीएनजी जीएएफसी क्रिकेट क्लब लण्डनका रपिन्द्र चिमाले ५१ हजार रुपैयाँ, अष्ट्रेलियास्थित शैलेन्द्र क्षत्री र रञ्जु पराजुलीले १५ हजार रुपैयाँ तथा वान डे क्रिकेट एकेडेमी काठमाडौंका सशी क्षेत्री र पुरुषोत्तम बानियाँले १० हजार रुपैयाँ सहयोग प्रदान गरेको जानकारी दिए। कार्यक्रमको सञ्चालन क्रिकेट खेलाडी सन्देश शाही ठकुरीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: