भोलि ग्याँस बाँडिदै, लाईनको सुरुमै एक्लैको आधा दर्जन सिलिण्डर, सर्वसाधारण निराश

Share:

रञ्जन अधिकारी पोखरा, २४ मंसिर ।  नाकाबन्दीपछि पोखरामा तेस्रो पटक शुक्रबार विभिन्न स्थानमा आधा परिमाणको खाना पकाउने एलपी ग्याँस वितरण हुँदैछ । जिल्ला प्रशासन कार्यालय, कास्कीले विहिबार साँझ सूचना जारी गर्दै ग्याँस वितरण हुने विषयमा जानकारी दिएको हो ।

प्रशासनले दिएको जानकारी अनुसार शुक्रबार पोखराको ११ वटा ग्याँस विक्रि केन्द्रबाट वितरण हुनेछ । तर, प्रशासनले सुचना जारी गर्नु अगावै विक्री केन्द्रहरुमा ग्याँसका सिलिण्डरको लाईन लागिसकेको छ । ‘साँझ ६ बजे नै लाईनमा आउँदा चार सय बढि सिलिण्डर लाईन लागिसकेछ ।’ पृथ्वीचोककी शान्ति केसीले भनिन्– ‘जम्मा बाँड्ने एक सय जति रे । फर्किन लागेको अब ।’ सर्वसाधारणका अनुसार लाईनको अग्रस्थानमा होटल, रेष्टुरेन्टवालाले ८–१० ओटा ग्याँस लाईन लागेर राखिदिँदा माग भन्दा अत्यन्त कम परिमाणमा बाँडिने ग्याँस पनि सर्वसाधारणले फेरि नपाउने अवस्था सिर्जना भएको हो । प्रशासनले सुचना जारी गर्नु अगावै सुचना चुहावट भएर विक्री केन्द्रमा एकै व्यवसायीले दर्जन सिलिण्डर पु¥याएर राख्ने गरेको पाईएको छ। विक्रेता भन्दा अगाडि नै ग्याँस बाँड्ने सुचना थाहा पाएर लाईनमा पुग्ने गरेको स्वयं ग्याँस विक्रेताहरु बताउँछन् ।

प्रशासनले दिएको जानकारी अनुसार शुक्रबार पनि शक्ति र गृहलक्ष्मी ग्याँस मात्र वितरण हुनेछ । शक्ति ग्याँस ११ र गृहलक्ष्मी ग्याँस १० वटा स्टेशनबाट वितरण हुने सुचनामा उल्लेख छ । गत कार्तिक १८ गते नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा गृहलक्ष्मी कम्पनीको पाँच हजार सिलिण्डर ग्याँस बाँडिएपछि मंसीर ६ गते शक्ति र गृहलक्ष्मीको करीब ८ हजार खाना पकाउने एल.पी. ग्याँस वितरण भयो । शुक्रबार शक्तिको २४२० र गृहलक्ष्मीको २०५० ग्याँस बाँडिन लागिएको प्रशासनले जानकारी दिएको छ । लेखनाथमा पनि सीमित यसअघि परिमाणमा बाँडिएको थियो । ग्याँस पाईने आशमा कतिपय विक्री केन्द्रमा हप्तौदेखि नै सिलिण्डरहरु बाँधिएर राखेको पाईएको छ ।

Gas-bitaran

प्रशासनका अनुसार अमरसिंहको सुलोचना ग्याँस सप्लायर्स, रानीपौवाको सुरेन्द्र स्टोर्स, लेकसाईडको रुश्री ट्रेडर्स, हेमजाको कृष्ण लक्ष्मी सप्लायर्स, प्रस्याङको सल्यानी पौडेल ग्याँस सप्लायर्स, छोरेपाटनको बिके ट्रेड सेन्टर, नदीपुरको शिवशक्ति ग्याँस सप्लायर्स, बाटुलेचौरको मनिष किराना स्टोर्स, काहुँखोलको हिरा किराना स्टोर्स र फुलबारीको किशोर किराना पसलबाट शक्ति ग्याँस वितरण हुनेछ ।

यस्तै, रामबजारको ईशानेश्वर हार्डवेयर, रानीपौवको सुरेन्द्र स्टोर्स, जरेबरको भण्डारी ट्रेडर्स, प्रस्याङको पोखरा ग्याँस सप्लायर्स, छोरेपाटनको सन्तोष फुड्स सप्लायर्स, बगरको ईमान ईच्छा सप्लायर्स, लामाचौरको बानिया ट्रेडर्स, पृथ्वीचोकको सुरेन्द्र ट्रेड सेन्टर र शिवालयचोकको रानाभाट किराना स्टोर्सबाट गृहलक्ष्मी ग्याँस वितरण हुनेछ ।

प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि सात सय रुपैयाँ बराबरको ग्याँस प्राप्त गर्ने प्रशासनले जनाएको छ । त्यसैगरि शारीरिक तथा मानसिक अशक्त अपाङ्ग परिचय पत्र भएकाहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला समितिको सिफारिसमा ३० थान गृहलक्ष्मी कम्पनीको ग्याँस सिलिण्डर खड्का किराना स्टोर्स, प्रतिभा टोल नयाँ गाउँमा उपलब्ध गराउने प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: